Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध

पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध


महेन्द्र शाही
सोलुखुम्बु, असार २८
खोटाङको ऐँसेलुखर्कमा वितरण गरिएको ल्यान्डलाइन टेलिफान सेवा समयमा नै मर्मत नहुनुमा आवश्यक समन्वयको अभाव देखिएको छ । फागुनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सम्बन्धित पक्षको समन्वय अभावले मर्मतमा ढिलाइ हुनपुगेको देखिएको हो ।

फागुनमा चट्याङ लागेर बिग्रेको ल्यान्डलाइन टेलिफोन अहिलेसम्म पनि मर्मत नहुँदा स्थानीयले भने सास्ती भोगिरहेका छन् । तर जिम्मेवार निकायले भने एक अर्कालाई देखाएर पन्छिन खोजेको पाइएको हो । नेपाल टेलिकम खोटाङले जनशक्ति अभाव भएको भन्दै ओलखढुङ्गाले हेर्नुपर्ने बताएको छ । खोटाङका प्रमुख खगेन्द्र बलमपाखीले आफूसँग जनशक्ति अभाव भएकाले मर्मत गर्न नसकिएको बताए ।

जनशक्ति नभएकाले यस विषयमा ओखलढुङ्गासँग कुरा गर्न उनले आग्रह गरे । तर ओखलढुङ्गाका प्रमुख बुच्चुराज खतिवडाले भने गाउँपालिकाको असहयोगले मर्मतमा ढिलाइ भएको बताए । लकडाउनका कारण पनि केही समय लागेको र स्थानीय तहले पनि सहयोग नगरेको उनको भनाइ छ । टेलिकमका प्राविधिक गाउँ जाँदा स्थानीयले फर्काउने गरेकाले पनि ढिलाइ भएको उनको भनाइ छ । आफ्ना कर्मचारी ५–६ पटक सम्बन्धित स्थानमा पुगे पनि स्थानीयले अवरोध गरेको उनको भनाइ छ । उनले आफूहरुले टेलिफोनको महशुल मिनाह गरिसकेको बताए ।

लकडाउनको समयमा बिग्रिएको सामान ल्याउन समेत नसकिएको उनको भनाइ छ । साथै अहिले ऐँसेलुखर्कमा केन्द्रीय प्रसारणलाइन जोड्ने काम भइरहेको र सो पोलमा विद्युत् प्राधिकरणबाट अनुमति लिएको भए पनि स्थानीयले तार टांग्न नदिएको खतिवडाले बताए । आफूहरु जतिसक्दो चाँडो समस्या समाधानतर्फ लागेको उनको भनाइ छ ।

यता गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले भने खोटाङ तथा ओखलढुङ्गाबाट आउने कर्मचारीले आफूसँग समन्वय नगरेको बताए । कोरोनाको त्रासमा रहेकाले स्थानीयले बाहिरको व्यक्तिलाई गाउँ प्रवेश गर्न नदिएको हुनसक्ने भन्दै महामारीको समयमा समन्वय गरी आउनुपर्ने उनले तर्क गरे । स्थानीय सरकारसँग समन्वय गर्दा सहज हुने र आफू आफ्ना जनतालाई बुझाउनका लागि तयार रहेको निरौलाको भनाइ छ । टेलिकमका कर्मचारीले समन्वय भएन भनेर झूटो बोलेको उनले आरोप लगाए ।

विद्युत्को पोलमा तार राख्न नदिएको विषयमा भने अध्यक्ष निरौलाले टेलिफोनको तार गरौँ हुने भएकाले भर्खरै गाडेको पोलमा असर गर्ने भएकाले कामदारले त्यसो भनेको हुनसक्ने बताए । आफूहरुले त्यसमा कुनै पनि अवरोध नभएकाले पालिकासँग समन्वय गरी आउन पनि उनले अनुरोध गरे ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया