Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त


काठमाडौं, असार २९
विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार जम्मा कोरोना संक्रमितमध्ये ९२ प्रतिशत नेपालीहरु संक्रमणबाट मुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीले ज्यान गुमाउनुपरेन ।

शनिबार साँझसम्म विश्वभर २९ हजार छ सय २४ जनामध्ये २७ हजार तीन सय ६२ जना नेपाली संक्रमणमुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरबलगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी सूचनाहरुलाई कडाइका साथ पालना गर्न समितिले आग्रह समेत गरेको छ ।

यसैबीच, नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार तीन सय ९६ जना नेपालीको उद्धार गरिएको छ । विभिन्न एयरलाइन्सका एक सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्धार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ ।

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४ सय ८३, म्यानमारबाट २६, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ४ सय ७६, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, श्रीलंकाबाट ५, सिंगापुरबाट १ सय ४६, हङकङबाट ८९, बहराइनबाट ५ सय ६७, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७ र चीनबाट १ सय ५ जनालाई स्वदेश फर्काइएको हो । शनिबार मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् । साथै यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया