Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलकडाउनका तीन महिनामा १ हजार १ सयभन्दा बढी पीडित

लकडाउनका तीन महिनामा १ हजार १ सयभन्दा बढी पीडित


काठमाडौं, असार ३१
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले देशभर लकडाउनको अवधिका तीन महिनामा एक हजार एक सय १९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकद्वारा सोमबार सार्वजनिक गरिएको लकडाउनका तीन महिनाको अभिलेख आवधिक प्रतिवेदनमा सो तथ्यांक उल्लेख गरिएको छ ।

प्रतिवेदनमा समेटिएका तथ्य तथ्यांकहरू गत चैत ११ गतेदेखि असार १० गतेसम्मका रहेको इन्सेकले जनाएको छ । यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट आठ सय ४१ जना महिलासहित एक हजार ५५ जना गरी एक हजार एक सय १९ जना पीडित भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा चार सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा दुई सय ८४ जना पीडित भएको इन्सेकले जनाएको छ ।

त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, एक सय १२ जना घाइते भएको, एक सय दुई जनालाई कुटपिट गरिएको, छ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेख गरेको प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र संवद्र्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया