Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहिराले पुरिएर निधन भएका परिवारलाई राहत

पहिराले पुरिएर निधन भएका परिवारलाई राहत


दमौली, असार ३१
पहिराले पुरिएर निधन भएका तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलोका स्थानीयवासीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले राहत रकम वितरण गरेको छ । सोमबार सो ठाउँका एकै परिवारका पाँच जनाको पहिराले पुरिएर मृत्यु भएको थियो । प्रशासन कार्यालयले जनही एक लाखका दरले पाँच लाख रुपैयाँ मंगलबार मृतकका आफन्तलाई वितरण गरेको हो ।

पहिराले पुरिएर स्थानीयवासी आम्बहादुर थापाका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी ५ वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको निधन भएको थियो । प्राकृतिक प्रकोपबाट मृत्यु हुनेलाई एक लाख प्रदान गर्ने नीतिबमोजिम पाँच जनाको पाँच लाख गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मृतकहरुका बुबा आमबहादुर थापालाई हस्तान्तरण गरे । सो क्रममा मन्त्री गुरुङले जनताको दुःखमा सरकार साथमा रहेकाले केही राहत रकम उपलब्ध गराइएको बताए । मानिसको जीवनभन्दा रकम ठूलो नभए पनि विपद्को अवस्थामा रकमले पीडित परिवारलाई केही राहत पुग्ने बताउँदै मन्त्री गुरुङले मानिस कोही पनि अमर नरहेकाले ढिला चाँडो सबैले संसारबाट विदा हुनुपर्ने भएकाले शोकको घडीलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए ।

भौगोलिक हिसाबले भैँसीकिलो सुरक्षित नभएकाले यहाँ बसोबास गरिरहेका घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने देखिएको मन्त्री गुरुङको भनाइ थियो । प्रदेशभित्रका जोखिमयुक्त ठाउँको प्रदेश सरकारले अध्ययन गर्न लागेको बताउँदै मन्त्री गुरुङले जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरणको पहल गरिने बताए । कोरोनाको महामारीसँगै अहिले प्राकृतिक विपत्ति आइपरेको र विपद् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर रहेको मन्त्री गुरुङले बताए ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विपद्का घटनाबाट मृत्यु हुनेका परिवारलाई जनही एक लाखका दरले राहत रकम उपलब्ध गराइने जानकारी दिए । प्रदेश सरकारबाट पनि जनही ५० हजारका दरले दुई लाख ५० हजार रकम उपलब्ध हुने प्रक्रियामा रहेको अधिकारीले बताए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका तर्फबाट एक लाख राहत रकम उपलब्ध गराइसकेको र थप आवश्यक सहयोग गाउँपालिकाका तर्फबाट रहने प्रतिबद्धता जनाए । यहाँ रहेका चार घरलाई सुरक्षित रुपमा स्थानान्तरणका लागि गाउँपालिकाका तर्फबाट पहल भइरहेको श्रेष्ठले बताए ।

पहिरोले बेपत्ता अझै भेटिएनन् : आइतबार राति परेको भीषण वर्षापछि आएको पहिराले पुरिएर बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । पहिराले पुरिएर बेपत्ता भएका व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेल फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएकाको सोमबार बिहानदेखि खोजी तीव्र पारिए पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । प्रहरी उपरीक्षक पौडेलका अनुसार मंगलबार पनि बिहानदेखि बेपत्ताको खोजी जारी

राखिएको थियो । बेपत्ताको खोजीका लागि नेपाली सेना, प्रहरी र स्थानीयवासी परिचालित छन् । पहिराले पुरिएका माझफाँटका ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीया अन्जना थापाको शव सोमबार नै फेला परेको थियो । उनीहरु एकै परिवारका हुन् । बेपत्ता रहेका राजेश पनि सोही परिवारका हुन् । तनहुँमा आइतबार राति आएको पहिराले पुरिएर दश जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् ।

पहिराले जिल्लाभर दुई सय घर विस्थापित भएको प्रजिअ बद्रीनाथ अधिकारीले जानकारी दिए । पहिराले विस्थापित भएकाहरुलाई स्थानीय तहको समन्वयमा वैकल्पिक बासको व्यवस्थापन मिलाइएको छ । बाढी पहिराका कारण जिल्लामा भएको क्षतिको पूर्ण विवरण नआइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिराका कारण पृथ्वी राजमार्ग र शाखा मार्गहरुका अधिकांश ठाउँमा रूखहरु ढलेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । ढलेका रुखहरुलाई पन्छाएर राजमार्ग सञ्चालन गराइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया