Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपरीक्षणको दायरा नबढ्दा संक्रमण फैलिने डर

परीक्षणको दायरा नबढ्दा संक्रमण फैलिने डर


वीरगञ्ज, साउन ५
पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या कम हुनुमा परीक्षण नहुनु कारक रहेको चिकित्सकहरूले बताएका छन् । उनीहरूले परीक्षणको अभावमा संक्रमित फेला नपरेको दाबी गरेका छन् । पहिलो चरणमा ह्वात्तै देखिएका कोरोना संक्रमितहरू पछिल्लो चरणमा चेकजाँचमा कमी आएको कारण संख्या नबढेको बताए । अहिले पर्सा जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूको मात्र पीसीआर परीक्षण भइरहेको छ । क्वारेन्टाइनमा रहेकाहरूको पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि सोको आधारमा कन्ट्याक्ट टे«सिङमार्फत् परीक्षाणबाहेक विगत दुई महिनाभन्दा बढी समयदेखि परीक्षण हुन सकेको छैन ।

अहिले नारायणी अस्पतालमा ५५ सय तिरेर व्यक्तिगतरूपमा पीसीआर परीक्षण भइरहेको छ । त्यसबाहेक आरडीटी परीक्षणका लागि वीरगञ्ज हेल्थकेयर र तराई अस्पतालमा व्यवस्था मिलाइएको छ । वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका पचास हजार घरपरिवारको परीक्षण गर्ने अभियान पनि अहिले थाती छ । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले ३२ वटै वडामा घरैपिच्छे एक जनाको स्वाब नमूना संकलन गर्ने बताए पनि केही कारणले अहिले सो अभियान स्थगित रहेको बताए । उनले २५ हजार किट खरिद भइसकेको र बाँकी किटको लागि संघ सरकारसँग आग्रह गरिएको बताए । उनले संघ सरकारबाट उपलब्ध नभए पनि महानगरपालिकाले थप किट खरिद गरेर ५० हजार परिवारको पीसीआर परीक्षण गर्ने बताएका छन् । उनले अभियान केही दिन पहिले नै सञ्चालन हुनुपर्नेमा प्राविधिक कारणले केही ढिलो हुने बताए । उनले परीक्षणको लागि सबै पक्षसँग सहकार्य भइरहेको बताएका छन् ।

एकथरी स्रोतले नगरप्रमुख सरावगीले सहकार्य नगरी परीक्षणको तयारी गरेका हुँदा केही राजनीतिक दलको आग्रहमा स्थानीय प्रशासनले यो कार्यमा रोक लगाएको जनाएको छ । महानगरपालिकाले सञ्चालन गरेको नारायणी अस्थायी कोभिड अस्पताल गण्डक बन्द गर्न गइरहेको र नारायणी अस्पतालमा ५ शैयाको मात्र आइसोलेसन व्यवस्था भएको हुँदा मनपाले अभियान चलाएर परीक्षण गर्दा फेला पर्ने संक्रमितको व्यवस्थापनमा समस्या हुने भएकोले प्रशासनले महानगरको चेकजाँच अभियानमा रोक लगाएको पाइएको छ ।

नगरप्रमुख सरावगीले अरूलाई दोष दिनुभन्दा पनि आफ्नो तयारीमा जुट्नु बेस हुने भनी प्रतिक्रिया दिए । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले परीक्षणको लागि अस्पतालको ल्याब तयारी अवस्थामा रहेको बताए । उनले दुईवटा पीसीआर मेसिन सञ्चालनमा रहेको र प्रत्येक १२ घण्टामा एक हजार स्वाब नमूना परीक्षण गर्न सकिने बताए ।

यसैबीच, नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा ७० जना संक्रमित राख्ने व्यवस्था गरिएको छ, जसमा १० वटा आइसियू, १० वटा स्वास्थ्यकर्मीहरूको लागि र बाँकी सर्वसाधारणको लागि आइसोलेसन व्यवस्था गरिएको छ । यसबाहेक सिद्धार्थ माविमा महानगरपालिकाले २ सय शैयाको प्रि–आईसोलेसन बनाएकोे छ । त्यहाँ अहिले संक्रमितहरू छैनन् । यसैगरी, मनपाका ६ वटा स्थानमा क्वारेन्टाइन छन् ।

परीक्षण दायरा नबढाइएको र भारतबाट मूल नाका हुँदै वीरगञ्ज छिर्नेहरूको संख्या न्यून भएको कारण क्वारेन्टाइन खाली छन् । परीक्षण नभएकै कारण संक्रमितहरूको संख्या नबढेको एक जना चिकित्सकले बताए । उनले खुला सीमाको कारण मूल नाकाबाट नभित्रिई अन्य नाकाबाट भित्रिनेहरूको संख्या बढी भएको र सोको सूचना पछिल्लो चरणमा प्रहरी प्रशासनसँग नभएको कारण क्वारेन्टाइनहरू खाली भएको बताएका छन् ।

चैत ११ गतेदेखि लकडाउन सुरू भएपछि भारतबाट आउनेहरूबारे गाउँटोलबाट प्रहरी प्रशासनलाई सूचना दिइए पनि पछिल्लो चरणमा कोरोना संक्रमण भएकाहरूमा लक्षण नदेखिएको कारण सूचना दिने संख्या कम भएको छ । खुला सीमाबाट अहिले पनि आवतजावत भइरहेको छ । भारतमा लकडाउन कडाइ गरेको र नेपालले सीमा सिल गरेको अवस्थामा पनि दुवै देशका सीमाको चोरबाटोबाट आवतजावत भइरहेको छ । पर्सा र बारामा इनर्वा, बलिरामपुर, श्रीसिया, अलौं, अमरपट्टि, सबैठवा, पाँडेपुर, भिस्वा, जानकीटोलालगायतका सीमावर्ती क्षेत्रबाट आवतजावत जारी छ ।

लकडाउन कडाइ भएको बेलामा दुवैतर्फका सुरक्षाकर्मीहरूले रोके पनि अहिले उनीहरू नै प्रभावमा परेर आवतजावतलाई मलजल गरिरहेका छन् । यो अवस्थामा परीक्षणको दायरा नबढाउँदा संक्रमित संख्या पत्ता लाग्न नसकेको हो । परीक्षणको दायरा बढाएको खण्डमा पर्सा जिल्लामा संक्रमितहरूको संख्या ह्वात्तै बढ्ने ती चिकित्सकले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया