Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमौद्रिक नीति स्वागतयोग्य : हस्तकला महासंघ

मौद्रिक नीति स्वागतयोग्य : हस्तकला महासंघ


काठमाडौं साउन ८
नेपाल हस्तकला महासंघले नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति स्वागतयोग्य भएको बताएको छ । महासंघले दिएका धेरै सुझावहरु मौद्रिक नीतिले सम्वोधन गर्न नसके पनि मौद्रिक नीतिले केही हदसम्म भए पनि कोभिड–१९ बाट प्रभावित भएका हस्तकला लगायतका निर्यातमूलक उद्योग व्यवसायको जगेर्ना गर्न सहयोग पुग्ने जनाएको छ । मौद्रिक नीतिले निर्यातमूलक हस्तकला उद्योग व्यवसायलाई थोरै मात्र भए पनि सम्बोधन गरेको महासंघको भनाइ छ ।

कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा व्यवस्था गरिनु, २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिट लगायतका अल्पकालीन प्रकृतिका चालू पुँजी कर्जाहरुलाई ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने तथा कोभिड–१९ बाट कम, मध्यम र अतिप्रभावित भएको पेशा÷व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई क्रमशः २०७७ पुस मसान्त, २०७७ चैत मसान्त र २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था व्यावहारिक रहेको महासंघले बताएको छ । यस व्यवस्थाले गर्दा कतिपय निर्यातकर्ताहरुको निकासी अर्डर रद्द भएको र उत्पादित सामानहरु बिक्री हुन नसकी मौज्दात रहेको अहिलेको अवस्थामा उद्यमी व्यवसायीहरुलाई यो व्यवस्थाबाट राहत पुग्ने महासंघको ठम्याइ छ ।

यस्तै विदेशी मुद्रा प्राप्त भए पछि नेपाली निर्यातकर्ताहरुको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र जारी गरी सक्नुपर्ने समयसीमा एक महिनाबाट बढाई चार महिना कायम गर्ने व्यवस्था उल्लेख भएबाट कोभिड १९ को कारण निर्यात गर्न नसकिरहेका निर्यातकर्ताहरुको लागि यो व्यवस्थाले थलिएको हस्तकला उद्योग व्यवसायको प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने महासंघले विश्वास लिएको छ । नेपाली निर्यातकर्ताले सम्बन्धित निकायको स्वीकृति लिई विदेशमा विभिन्न प्रदर्शनी, व्यापारमेला आदिमा नेपाली वस्तु बिक्री गरेबापत प्राप्त नगद विदेशी मुद्रा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको निर्यातकर्ताको विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिने व्यवस्था गरिएको स्वागतयोग्य भए पनि सो विदेशी मुद्रा खाता खोल्न सरल कार्यविधिको व्यवस्था गरिनुुपर्ने महासंघको माग छ ।

सबल र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्यूनीकरण गर्न नेपाल सरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको मर्मअनुरुप सबै प्रकारका वित्तीय कारोबारहरु विद्युतीय माध्यमबाट गर्न प्रोत्साहित गर्ने र विद्युत्तीय भुक्तानीमा क्विक रेस्पोन्स कोडमार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न तथा सूचना प्रविधिलगायत विविध सेवा अनलाइन वा इलोक्ट्रानिक माध्यमबाट निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा सम्बन्धित निर्यातकर्ता वा सेवा प्रदायकको विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने व्यवस्था गरिने भनिए पनि अनलाइनमार्फत हस्तकलाका वस्तुहरु निकासी विद्युतीय कारोबारबाट गर्न पाइने हो वा होइन स्पष्ट नभएको महासंघको भनाइ छ ।

हस्तकला उद्योग व्यवसायको संरक्षणको लागि चालू आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने विषयहरु समावेश गरी महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यको नेतृत्वमा पूर्व अध्यक्षहरु, महासंघका पदाधिकारीहरु र अग्रणी निकासीकर्ता सम्मिलित टोलीले गत असार १७ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आवश्यक सुझाव प्रदान गरेको थियो । महासंघले दिएका सुझावमध्ये केही सुझावलाई मौद्रिक नीतिले सम्बोधन गरिएको पाइएको महासंघले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया