Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना संक्रमणको दर बढ्यो

कोरोना संक्रमणको दर बढ्यो


काठमाडौं, साउन १४
नेपालमा कोरोना संक्रमणको दर उच्च रुपमा बढ्नथालेको छ । काठमाडौं उपत्यकामा आजसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौं उपत्यकामा एकैदिन ५३ जना कोरोना संक्रमित फेला परेका छन् ।

ती संक्रमितमध्ये काठमाडौंमा ४८ जना, लतिलपुरमा चार जना र भक्तपुरमा एक जना फेला परेका छन् । काठमाडौं उपत्यकामा बाहिरबाट आउनेको संख्या बढेसँगै संक्रमितको संख्या बढेको हो । सरकारले नाकामै स्वाब लिएर परीक्षणको दर पनि बढाएको छ । सोही कारण संक्रमितको दर बढेको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार एकै दिन तीन सय ११ जनामा कोरोना पुष्टि भएको छ । पाँच हजार ३२ जनाको परीक्षणमा उक्त संख्या देखिएको हो ।

सरकारले तीन लाख ५२ हजार तीन सय सात जनाको परीक्षण गरिसकेको छ । क्वारेन्टाइनमा १५ हजार तीन सय ३१ जना छन् । गत असार १९ गते नेपालमा सात सय ४० जनामा कोरोना पुष्टि भएको थियो । तर, काठमाडौं उपत्यकामा यति धेरै संख्यामा कोरोना संक्रमित फेला परेका थिएनन् । कोरोनाबाट संक्रमितहरुको संख्या बढे पनि अहिलेसम्म त्यसको औषधि पत्ता लाग्न सकेको छैन । नेपालमा कोरोनाबाट ४९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक बझाङका एक पुरुषको कोरोनाको कारण निधन भएको छ ।

मन्त्रालयका अनुसार सोमबारदेखि मंगलबारसम्म थप एक सय २१ जना कोरोना निको भएर घर फर्किएका छन् । मंगलबारसम्म १३ हजार आठ सय ७५ जना घर फर्किएका छन् । अझै अस्पतालमा पाँच हजार एक सय २९ जना उपचाररत छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया