Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलकडाउन खुले पनि कालिञ्चोकका होटल सुनसान

लकडाउन खुले पनि कालिञ्चोकका होटल सुनसान


सुबास बस्नेत
दोलखा, साउन २२
दोलखाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक मन्दिर आसपासका होटल विगत पाँच महिनादेखि सुनसान छन् । कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले जारी गरेको लामो लकडाउनले प्रभावित बनेको यस क्षेत्र लकडाउन अन्त्य भए पनि सुनसान नै छ । सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेसँगै यस क्षेत्रका होटलहरु पनि खुलेका छन् । होटल खुले पनि सरकारले लामो दूरीको यातयात सञ्चालन नगर्ने तथा भीडभाड हुने धार्मिक स्थलहरु नखोल्ने निर्णय गरेकाले यस क्षेत्रका होटलहरु सुनसान छन् । जिल्लाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थल कालिञ्चोकका होटल व्यवसायीहरु कोरोना भाइरस र त्यसपछिको लकडाउनका कारण मारमा परेका हुन् ।

सरकारले यसअघि पर्यटन क्षेत्र भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपछि यस क्षेत्रका होटल व्यवसायी केही उत्साहित बनेका थिए । तर पछिल्लो चरण कोरोना संक्रमणको दर बढेसँगै अन्तर्राष्ट्रिय हवाइ उडान तथा पर्यटन क्षेत्र खोल्ने या नखोल्ने भन्नेमा अन्योल पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएसँगै यस क्षेत्रका व्यवसायीहरु थप चिन्तित बन्नपुगेका छन् । कोरोनाका कारण ठूलो लगानी गरेर खोलेका होटल तथा रेस्टुरेन्ट खाली हुँदा आर्थिक संकट देखिनथालेको व्यवसायीहरु बताउँछन् ।

गत फागुनदेखि नै कालिन्चोक क्षेत्रमा पर्यटकको आगमव शून्य छ । आम्दानीको मुख्य स्रोत नै बन्द हुँदा बैंक तथा सहकारीको किस्ता तथा हर्जना तिर्न समस्या भएको कालिञ्चोक सुनपाती होटलका सञ्चालक हरि वलीले बताए । पर्यटक आउने सिजन चलिरहेको बेला कोरोनाको संक्रमण फैलिएपछि आम्दानीको स्रोत नै बन्द भएको उनले बताए । लकडाउन खुल्नेबित्तिकै घुम्न आउने पर्यटकलाई पास चाहिने, कच्ची सडक महङ्गो सवारी भाडाका कारण आउन खोज्ने पर्यटक पनि आउन नसकिरहेको उनले सुनाए ।

बाहिरी जिल्लाका पर्यटकलाई कालिञ्चोक आउन अनिवार्य पास चाहिने भएकाले पनि पर्यटकको आगमन हुन नसकेको उनले बताए । कालिञ्चोकमा लाखौं खर्च गरेर खोलेका ५० होटल रहेका छन् । चाडपर्व नजिकिँदा भरिभराउ हुने कालिञ्चोक हिजोआज सुनसान देखिन्छ । सो भेगका होटल व्यवसायीले लकडाउन खुलेदेखि नै कोरोना संक्रमण रोक्न सरकारले दिएको निर्देशनअनुरुप आवश्यक सतर्कता अपनाएर होटल खुल्ला गरेको जनाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया