Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रादेशिक इन्धन भण्डारण आयोजना अघि बढेन

प्रादेशिक इन्धन भण्डारण आयोजना अघि बढेन


कर्णाली, साउन २७
नेपाल आयल निगमको प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया अघि बढ्नसकेको छैन । संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण गर्ने योजनाले प्राथमिकता पाए पनि उपयुक्त जग्गा अभावले तीन वर्षदेखि प्रक्रिया सुरु हुन नसकेको हो ।

निगमले गत वर्ष सुर्खेतको वीरेन्द्रनगर–११ स्थित नेपाल ट्रस्टको नाममा रहेको २० बिघा जग्गामा इन्धन भण्डारण गृह बनाउने योजना अघि सारेको थियो । निगमका प्रादेशिक कार्यालय प्रमुख दीपक घिमिरले उक्त जग्गा बस्तीदेखि टाढा भए पनि समथर नभएको, नदी किनारमा भएको, भूक्षय तथा पहिराको खतरा रहेकाले विकल्पको खोजी भइरहेको बताए ।

‘मुख्य कुरा जग्गाको टुङ्गो लाग्नसकेको छैन, कम्तीमा १० देखि बढीमा २० बिघासम्म जग्गा चाहिन्छ’, उनले भने, ‘निगमले भविष्यमा नेपालगञ्ज समेतलाई आपूर्ति व्यवस्था मिलाउने गरी छिन्चु आसपासमा जग्गाको खोजी गरिरहेको छ ।’

सरकारले तीन वर्षअघि सबै प्रदेशमा कम्तीमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण गृह निर्माण गर्ने नीति ल्याएको थियो । कर्णालीमा डिजेल, पेट्रोलको भण्डार नभएका इन्धन आपूर्तिमा पटक–पटक अभाव हुने गरेको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा इन्धनको माग कम छ । यहाँ हाल दैनिक दुई लाख ४० हजार लिटर डिजेल र ५० हजार लिटर पेट्रोलको खपत छ । प्रदेशभर १३ वटामात्र पेट्रोल पम्प छन् ।

२०५२ सालदेखि सञ्चालनमा आएको आयल निगमको सुर्खेत डिपोमा हाल ४५ हजार लिटर मट्टीतेल र ६० हजार लिटर हवाइ इन्धनमात्र अट्ने क्षमता छ । वार्षिक झण्डै तीन लाख लिटर मट्टीतेल बिक्री हुँदै आएको छ भने हवाइ इन्धन सात दिनमात्र पुग्ने गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया