Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा कोरोना संक्रमित संख्या दैनिक बढ्दो

दोलखामा कोरोना संक्रमित संख्या दैनिक बढ्दो


सुबास बस्नेत
दोलखा, भदौ ७
दोलखामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । दोलखामा एक महिनाको अवधिमा २१ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार जिल्लाको भिमेश्वर नगरपालिका भित्रका थप ६ जना जनामा कोरोना संक्रमण भएको छ । भिमेश्वर नगरपालिका भित्रका ६२ जनामा गरिएको कोरोना परिक्षणमा तीन जना महिला सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लाभर कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

त्यस्तै जिल्लाको गौरीशंकर गाउँपालिका भित्रका १३ जना मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभर करिब २१ जना मानिसलाई कोरोना संक्रमण हुँदा १३ जना संक्रमित गौरीशंकर गाउँपालिका भित्रका रहेकोले कोरोनाको उच्च जोखिममा यस पालिकालाई लिईएको छ । गत साउन २६ गते गौरीशंकर गाउँपालिका सुरिका स्वास्थ्य कर्मचारी सहित दुई जनालाई कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि गाउँपालिकाले पठाएको नमुना परिक्षणमा थप पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

थप ५ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि गाउँपालिकाले पुनः संक्रमीतको सम्पर्कमा पुगेका १ सय ७६ जनाको नमुना संकलन गरेर भदौ २ गते परिक्षणको लागी पठाएको थियो । १ सय ७६ मध्ये १ सय ४१ जनाको कोरोना परिक्षणको क्रममा शुक्रबार चार जनाको कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । शुक्रबार थपिएका चार जना गरि पालिकाभित्र कोरोना संक्रमण हुनेको संख्या १३ पुगेको हो । जिल्लामा कोरोनाको महामारी फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले गत साउन ३२ गतेदेखि एक साताको लागी गरेको लकडाउन गरेको थियो ।

प्रशासनले उक्त लकडाउनलाई थप चार दिन बढाउदै भदौ १० गते मध्येरातीसम्म कायम राख्ने निर्णय गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको हुँदा थप चार दिन लकडाउन लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए । शर्माका अनुसार गौरिशंकारमा शुक्रबार भेटिएका संक्रमीतमध्ये एक जना कोरोना संक्रमितलाई सनिवार उपचारको लागी धुलिखेल अस्पताल पठाईएको छ । स्वास फेर्न गाह्रो भएका कारण कोरोना संक्रमित स्थानीय एक विद्यालयका शिक्षकलाई थप उपचारका लागि धुलिखेल पठाईएको हो ।

शुक्रबार फेला परेका चारमध्ये एक सुत्केरी र एक बालिका पनि छिन् । शुक्रबार फेला परेकाहरू कोरोना संक्रमितहरू फरक फरक पृष्ठभुमीका रहेका कारण उनिहरूको सम्पर्कमा आएकाहरूको खोजी गर्न कठिन भएको गाउँपालिका अध्यक्ष स्वयं बहादुर खड्काले जानकारी दिए । सबै संयन्त्रहरू प्रयोग गरेर थप कन्ट्रयाक्ट ट्रेसिङको काम अगाडि बढाउने तयारी गरेको उनको भनाई छ ।

यसै बिच गाउँपालिकाले गाउँमा आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । शनिबार बिहान पालिकाका अध्यक्ष स्वयंबहादुर खड्का, उपाध्यक्ष उर्मिला थामीसहित उपस्थित पदाधिकारी र कर्मचारीहरूको बैठकले संक्रमण नियन्त्रणमा लिन गाउँपालिकाका सबै वडाहरू सिल गर्ने निर्णय गरेको हो । गाउँपालिकाले जिल्ला स्तरिय संकट व्यवस्थापन समिति संग समन्वय गरेर संक्रमीतहरूको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको पहिचान गरिने र स्वाब लिने काम छिट्टै अगाडि बढाईने जनाएको छ । यसअघि फेला परेका संक्रमितहरू गाउँमै क्वारेन्टिनमा बसिरहेका छन् । शुक्रबार भेटिएका तिन जना समेत गाउँमै रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरि कोरोना संक्रमणको त्रासले जिल्लाको उत्तरी प्रमुख व्यापारी केन्द्र सिंगटि बजार सिल गरिएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटि बजारमा रहेको रोल्वालीङ सामुदायिक अस्पतालमा भर्ना भएका एक स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि सनिवार बिहान देखि नै बजार सिल गरिएको ईलाका प्रहरी कार्यालय सिंगटिका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया