Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेलायतद्वारा कोभिड–१९ विरुद्ध लड्न नेपाललाई ४५.८ मिलियन पाउण्ड स्टर्लिङ्ग सहयोग

बेलायतद्वारा कोभिड–१९ विरुद्ध लड्न नेपाललाई ४५.८ मिलियन पाउण्ड स्टर्लिङ्ग सहयोग


काठमाडौं, भदौ १२
संयुक्त अधिराज्य बेलायतले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न ४५.८ मिलियन पाउण्ड स्टर्लिङ्गको सहयोग गर्ने भएको छ । बेलायतका विदेश तथा कमनवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदले कोभिड– १९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन उक्त रकमको सहयोग प्याकेजको घोषणा गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमनवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदबीच बिहीबार द्विपक्षीय सहयोग र हितका विषयमा भिडियो कन्फ्रेन्समार्फत छलफल भएको थियो । उक्त छलफलमा बेलायतले सहयोग प्याकेज दिने घोषणा गरेको हो ।

उक्त छलफलमा नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्वाद र हरित विकासजस्ता विषयमा नेपालसित थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार इच्छुक रहेको बेलायती मन्त्री लर्ड अहमदले बताए । छलफलमा अर्थमन्त्रीले नेपाल र बेलायतबीच दुई सय वर्षदेखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गराउँदै नेपालको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, वित्तीय पहुँच, सडक पूर्वाधार र लगानीजस्ता क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

अर्थमन्त्रीले बेलायत सरकारले कोभिड–१९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा खुसी व्यक्त गरे । अर्थमन्त्रीले छलफलमा नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासबारे जानकारी गराएका थिए । उनले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्ड ऐनलगायतका कानुनहरु निर्माण गरिएको बताए ।

अर्थमन्त्रीले बेलायतका लगानीकर्तालाई अघिल्लो वर्ष लगानी सम्मेलनका सिलसिलामा बेलायत भ्रमण गरेको र त्यसको फलस्वरुप बेलायती लगानीकर्ताहरु उत्सुक भएको स्मरण गर्दै यसमा सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध समेत गरे ।

अर्थमन्त्री खतिवडाले वित्तीय पहुँच र वित्तीय समावेशितासम्बन्धी नीति तर्जुमा र कार्यान्वयनमा बेलायत सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । कार्बन उत्सर्जनमा नेपालको नगन्य अंश भए पनि जलवायु परिवर्तनबाट नेपाल उच्च जोखिममा रहेको उनले बताए । उनले हरित प्रविधि, वन क्षेत्रको विस्तार, नवीकरणीय ऊर्जा र जैविक विविधता संरक्षणमा नेपालले जोड दिएको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमाली क्षेत्रको संरक्षण गरी जलवायु परिवर्तनको असरबाट सुरक्षित राख्न विश्व समुदायले अग्रसरता लिनुपर्ने बताए । यस सन्दर्भमा बेलायतमा हुने कोप २६ को बैठकमा नेपालले सक्रिय सहभागिता जनाउने र आफ्ना अनुभवहरु समेत सुनाउने जानकारी गराए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया