Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबझाङ साइपाल गाउँपालिकामा ६ सय ४३ जनामा आँखाको समस्या

बझाङ साइपाल गाउँपालिकामा ६ सय ४३ जनामा आँखाको समस्या


आशिष बहादुर सिंह
बझाड. ।
दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरूको आँखासम्बन्धी समस्याको जाँचमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले छ सय ४३ जनामा आँखासम्बन्धी समस्या रहेको फेला पारेको छ । टोलीले गाउँपालिकाभरिका नौ सय २३ जनाको आँखा परीक्षण गरेको थियो । आँखासम्बन्धी समस्या देखिएकाहरूमा ६३ जनामा मोतिबिन्दुलगायत शल्यक्रिया गर्नु पर्ने खालको समस्या देखिएको र पाँच सय ८० जनाको औषधि उपचारपछि नियमित चश्मा लगाएमा दृष्टि पूर्ववत फर्किने सम्भावना रहेको परीक्षण टोलीले जानकारी दिएको छ ।

गेटा आँखा अस्पताल र जिल्ला अस्पताल बझाङको टोलीले गरेको प्रारम्भिक परीक्षणका क्रममा लामो समयदेखि अन्धोपनमा रहेका कतिपयको अवस्था निकै जटिल भइसकेको पाइएको टोलीमा सहभागी स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘१०/१२ वर्षदेखि अन्धोपन भएका मानिसहरू पनि थुप्रै भेटिए,’ साइपालवासीको आँखाको प्रारम्भिक परीक्षण टोलीमा संलग्न एक स्वास्थ्यकर्मी जनककुमार विष्टले भने, ‘कतिपयको त मोतिबिन्दु बिग्रेर जटिल अवस्थामा पुगिसकेको रहेछ ।’ उनले वर्षाैँदेखि आँखाको ज्याति गुमाएर बसिरहेका वृद्धवृद्धाहरूको अवस्था निकै कष्टकर रहेको सुनाए ।

गाउँपालिकामा रहेका आँखारोगीहरूको वास्तविक तथ्याङ्क आफूले अनुमान गरेभन्दा निकै बढी देखिएको साइपाल गाउँपालिकाकाका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘हामीले तीन सयजतिमा समस्या होला भन्ने अनुमान गरेका थियौँ । यहाँ दोब्बरभन्दा बढीमा भेटियो,’ उनले भने, ‘अब वास्तविक तथ्याङ्क आएको छ । सहयोगीहरू पनि थुप्रै जुटेका छन् । ढिलै भए पनि साइपालका सबै आँखा रोगीहरूले उपचार पाउने आशा पलाएको छ ।’ उनले आँखाको समस्या समाधान गरिदिनका लागि यसअघि पनि आफूले धेरैलाई अनुरोध गरेको तर कसैले सुनुवाइ नगरिदिएको बताए ।

कात्तिक पहिलो साता शिविर सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिएका छन् । साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडामा तीन दिनसम्म शिविर चल्ने र तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक एवं वरिष्ठ नेत्ररोग विषेशज्ञ प्राडा सन्दुक रुइतको टोलीले आँखा शिविर शल्यक्रियालगायतका सेवा दिने उनले जानकारी दिए । यसका लागि अस्पताल विकास समितिले डा. रुइतलाई पत्राचारसमेत गरिसकेको भण्डारीले बताए ।

यस्तै आँखा तथा एकीकृत स्वास्थ्य शिविरमा चिकित्सक, औषधि र उपकरण ओसार्नका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई हेलिकोप्टर खर्च बेहोर्नका लागि समेत अस्पताल व्यवस्थापन समितिले अनुरोध गरिसकेको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।

प्रदेश सरकारसँग शिविर सञ्चालनका लागि पहल गरिरहेका सभामुख अर्जुन थापाका स्वकिय सचिव कविन्द्र रोकायाका अनुसार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकप्टर र औषधि खर्चको रकम निकासासम्बन्धी काम थालेको र नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर प्रक्रिया छोट्याउन पहल भइरहेको छ । उनले सकेसम्म असोज महिनाभित्र शिविर सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया