Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधनुषाका सामुदायिक विद्यालयमा पनि वैकल्पिक माध्यमबाट पठनपाठन हुने

धनुषाका सामुदायिक विद्यालयमा पनि वैकल्पिक माध्यमबाट पठनपाठन हुने


बटुकनाथ झा
जनकपुरधाम ।
लामो समयदेखि लकडाउनका कारण बन्द रहेका विद्यालयहरुमा पढाइ बन्द भएपछि विद्यार्थीहरुको पढाइ पूर्णरुपले प्रभावित भएको छ । लकडाउन खुले पनि सरकारले शैक्षिक संस्थाहरुलाई खोल्न अनुमति दिएको छैन । सरकारले वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

सोहीअनुरुप यहाँका सामुदायिक विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुने भएको छ । जिल्लाका विभिन्न स्थानीय तहले मातहतका सामुदायिक विद्यालयहरुमा वैकल्पिक शिक्षा मार्फत पठनपाठन गराइने तयारी भइरहेको जनाएका छन् । जनकपुरधाममा रहेका संस्थागत विद्यालयहरुले अनलाइनमार्फत शिक्षा प्रदान गरेको करिब दुई महिना बित्न लाग्दा बल्ल सामुदायिक विद्यालयहरुमा वैकल्पिक शिक्षामार्फत पठन पाठनको तयारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले अधिकांश विद्यालयहरुमा वैकल्पिक शिक्षामार्फत अध्यापन बढाउनका लागि कार्ययोजना तयार पार्न लगाएको छ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा ५२ वटा विद्यालयहरु रहेको र सबैमा वैकल्पिक माध्यमद्वारा पठनपाठन बढाउनका लागि कार्ययोजना शिक्षाशाखामा पेश गर्नका लागि निर्देशन दिइएको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन् । कार्ययोजना पेश गर्नका लागि बिहीबार अन्तिम दिन रहेको बताउँदै उपप्रमुख मिश्रले कार्ययोजना पेश गरेपछि तत्काल पठन पाठनको सुरु हुने बताइन् ।

उपमहानगरपालिकाको ग्रामीण वडाहरुमा वैकल्पिक सिकाइ चुनौतीपूर्ण भए पनि प्रयास गर्दा सफल हुने उनले बताइन् । जनकपुरधामको कतिपय ग्रामीण वडाहरुमा इन्टरनेट तथा अन्य साधनको पहुँच नभएकाले तिनीहरुलाई कसरी वैकल्पिक शिक्षामा समेट्न सकिन्छ भन्ने विषयमा सुझाव आइरहेको पनि शिक्षा शाखाका अधिकृत अंजु पाण्डेले जानकारी दिइन् ।

यसैगरी मिथिला नगरपालिकाले पनि वैकल्पिक शिक्षामार्फत पठन पाठनको सुरुवात चाँडै गर्ने तयारी गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बरखुप्रसाद रजकले जानकारी दिए । वैकल्पिक माध्यमवाट पठन पाठन सुरु गर्नका लागि धनुषाका १८ वटै पालिकामा परिपत्र गर्नुका साथै विद्यार्थी संख्याको आधारमा तीन लाखदेखि पाँच लाख रकम निकासा गरको बताउँदै उनले अहिले शिक्षा मन्त्रालयले डाटा पनि निःशुल्क दिने भएकाले इन्टरनेटमार्फत पढ्नमा कुनै कठिनाइ नहुने जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया