Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलु करिडोरको काम सुरु

सोलु करिडोरको काम सुरु


महेन्द्र शाही
सोलुखुम्बु ।
कोरोनाका कारण सुरु भएको बन्दाबन्दी तथा निषेधाज्ञा खुलेसँगै सोलु करिडोरको काम पनि सुरु भएको छ । सिराहको मिर्चयादेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला लाम्ममानेसम्मको ९० किलोमिटर लामो राष्ट्रिय प्रसारण लाइनको आयोजना करिब ७ महिनापछि पुनः सुरु भएको हो ।

कोरोनाका कारण लकडाउनले गर्दा रोकिएको आयोजनाको काम एक हप्ताअघिदेखि थोरै कामदारबाट सुरु गरिएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए । अघिल्लो हप्ता बाँकेबाट ३१ जना कामदार ल्याएको र त्यसबाट सुस्त गतिमा भए पनि काम सुरु गरिएको प्रमुख गौतमको भनाइ छ । बीचमा आएर १५ जना कामदार भागेकाले अहिले थप समस्या भएको उनले बताए ।

अहिले केही स्थानीय र बाहिरबाट ल्याएका थोरै भए पनि कामदारबाट काम भइरहेको उनको भनाइ छ । कामदार आएपछि ओखलढुङ्गाको चित्रेमा एउटा टावर निर्माणको काम समेत सम्पन्न गरिएको गौतमको भनाइ छ  ।

चित्रेमा टावर निर्माण भएसँगै आयोजनाका तीन सय दुईवटामध्ये दुई सय पाँचवटा टावर निर्माण सकिएको आयोजनाले जनाएको छ । लकडाउन हुनुभन्दा पहिले नै दुई सय चारवटा टावर निर्माण गरिएको र लामो समयपछि टावर निर्माणमा सफलता पाइएको आयोजना प्रमुख गौतमले बताए ।

अहिले आयोजनाको १६ वटा टावरको फाउण्डेसनको काम सकिएको र बाँकी ९७ वटा टावरको काम हुन नसकेको बताइएको छ । त्यस्तै अहिलेसम्म ४५ किलो मिटर तार तान्ने काम सकिएको आयोजना प्रमुख गौतमले बताए । जुन बन्दाबन्दी हुनुभन्दा पहिले नै गरिएको काम हो ।

भारतबाट कामदार ल्याउने विषयमा गृह मन्त्रालयसँग अनुमति माग गरिएको र अनुमति पाउनेबित्तिकै कामदार ल्याइने उनको भनाइ छ । भारतबाट कामदार ल्याउन पाएको खण्डमा आयोजनाले गति लिने बताइएको छ । दशैँ तिहारजस्ता चाडपर्वका कारण आयोजनामा थप गरिएको समयमा सकिने सम्भावना भने न्यून रहेको बताइएको छ । आजोजनाको समय पछिल्लो पटक पुष १६ गतेसम्म थप गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया