Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतिलोत्तमामा गुणस्तरीय शिक्षाका लागि छड्के अनुगमन

तिलोत्तमामा गुणस्तरीय शिक्षाका लागि छड्के अनुगमन


पोसकान्त पोखरेल
बुटवल, पुस १३
तिलोत्तमा नगरपालिका रुपन्देहीका वडा नं. १३ र १४ मा अवस्थित नौवटा सामुदायिक विद्यालयहरुमा एक संयुक्त टोलीले छड्के अनुगमन गरेको छ । टिकुलीगढ सिकाइ केन्द्रका अध्यक्ष श्याम खरेलको संयोजकत्वमा तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष गणेश न्यौपाने, नगर शिक्षा अधिकृत गंगाराम आचार्य, प्रचण्ड जिसी, शोभाखर चापागाईं, प्रशिक्षक गोपाल भण्डारीसहितको टोलीले सामुदायिक विद्यालयहरुमा अनुगमन गरेको हो ।

तिलोत्तमा–१३ का वडा अध्यक्ष गणेश न्यौपानेका अनुसार अनुगमन टोलीले १३ र १४ नं. वडामा अवस्थित जनता मावि, टिकुलीगढ मावि, सरस्वती निमावि, दुर्गा मावि, सेमरी आधारभूत विद्यालय, जनजागृति आधारभूत विद्यालय, वभनी भूपू सैनिक आधारभूत विद्यालय, दुर्गा वेद वेदाङ्ग मावि, नमूना महिला आधारभूत विद्यालयहरुमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा टोलीले विद्यालयको सरसफाइ, बाल विकास कोठा तथा विद्यार्थीहरुको सरसफाइ, गणित विषय बालविकासको प्रशिक्षण र कार्यान्वयन, शिक्षकसँग विद्यार्थीको अन्तर्घुलन, शिक्षकसँग व्यवस्थापन समितिको अन्तर्घुलन, बालमैत्री कक्षाकोठा भए/नभएको, स्वच्छ खानेपानी तथा सरसफाइको अवस्था, जंकफुड तथा प्लाष्टिकमुक्त विद्यालय भए/नभएको, ड्रेस लगाए/नलगाएको लगायतका विषयहरुमा अनुगमन भएको थियो ।

गुणस्तरीय शिक्षा प्रणालीको लागि विभिन्न विषयहरुमा गरिएको अनुगमनको क्रममा अनुगमन टोलीले केही शिक्षक तथा सहायक प्रअ समेत बाहिरी ड्रेसमा भेटिएको, ४ बजे गर्नुपर्ने हाजिरी बिहानै १० बजे गरेको, विषयगत तालिम एक जनाले लिए पनि अध्यापन अर्कोले गराएको लगायतका केही कैफियतहरुमा सचेत गराउँदै भावी दिनहरुमा गुणस्तरीय शिक्षा प्रणालीमा आँच आउने कुनै प्रकारका गतिविधि नगर्ने गरी सावधानी गराइएको वडा अध्यक्ष गणेश न्यौपानेले जानकारी गराए । न्यौपानेले विगतभन्दा वर्तमानमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा धेरै भिन्नता आएको बताउँदै संस्थागत विद्यालयहरुको तुलनामा राम्रो नतिजा ल्याउन अझै धेरै मिहिनेत गर्नुपर्ने र गर्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया