महेन्द्र शाही
सोलुखुम्बु, पुस १३
निर्माण कम्पनीको लापरबाहीका कारण स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माणकार्य अलपत्र परेको छ । निर्माणको जिम्मा पाएको निलगिरी निर्माण सेवा प्रालिले करिब ८० प्रतिशत काम गरेर बाँकी काम अघि नबढाउँदा भवन अलपत्र बनेको हो । २०७१ साल माघ २० गते दुई करोड ३४ लाख ६७ हजार ४ सय ६८ रुपैयाँमा भवन निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले दुई पटक म्याद थप गरेर पनि काम सम्पन्न गरेको छैन । फाप्लुमा निर्माणाधीन भवनको काम सम्पन्न गर्न २०७३ माघ १९ र २०७५ असार ३२ गते दुई पटक म्याद थप गरे पनि निर्माणको काम अघि बढाइएको छैन ।
१६ वटा कोठा र ३ वटा हलसहितको पक्की भवनको छाना, झ्याल, ढोका र फिनिसिङको काम बाँकी राखेर निर्माण कम्पनी सम्पर्कविहीन बनेको छ । कम्पनीका सञ्चालक युवराज डाँगीले फोन उठाउँदैनन् । पेटी ठेकेदार भने पैसा नआएकाले काम गर्न नसकिएको बताउँछन् । पटक–पटक ताकेता गरे पनि कामले पूर्णता पाउन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द राजवंशीले गुनासो गरे ।
२०७३ माघ १० गते तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको निर्माण कम्पनी र सरोकारवाला पक्षको बैठकमा २०७४ जेठ मसान्तसम्म भवन निर्माणको काम सम्पन्न गर्ने सहमति गरे पनि हालसम्म भवन निर्माणले पूर्णता पाउनसकेको छैन । सो बैठकमा निर्धारित मितिमा काम सम्पन्न नभए स्वास्थ्य कार्यालयले लिँदै आएको घरको भाडा निर्माण कम्पनीले तिरिदिने सहमति गरिएको थियो । प्रशासन कार्यालयमा भएको बैठकको निर्णयअनुसार काम नभएपछि स्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख सुमन तिवारीले २०७६ साउन १५ गते आवश्यक पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको जानकारी दिए ।
सो पत्रको बोधार्थ प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुंगालाई पनि पठाइएको छ तर कुनै पनि निकायबाट सार्थक पहल हुनसकेको छैन । तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीलगायतको एक टोलीले अलपत्र भवनको अनुगमन समेत गरेको कार्यालय स्रोतले बताएको छ । नयाँ भवनबाट सेवा आरम्भको आशामा रहेको स्वास्थ्य कार्यालयले वर्षेनी पौने छ लाख भाडा तिर्दै आएको छ ।
निलगिरी निर्माण सेवा प्रालिले ठेक्का पाएपछि ओखलढुंगाका योगेन्द्र राजभण्डारीलाई कामको जिम्मा दिएको र राजभण्डारीले पेटी ठेकेदारको रुपमा फाप्लुका बुद्ध मगरलाई दिएको स्रोतले बताएको छ । स्थानीय ठेकेदार मगरले निर्माण कम्पनीबाट लाखौँ रकम लिन बाँकी रहेकाले काम सम्पन्न गर्न नसक्ने बताएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले निर्माण कम्पनीलाई पटक–पटक ताकेता भइरहेको बताएको छ । इन्जिनियर भुपाल मगरले कम्पनी सञ्चालकलाई पटक–पटक भेटेर बाँकी काम सम्पन्न गर्न दबाब दिइरहेको बताए । उनले भने, ‘फकाएर माने सम्झौता तोड्ने काम किन गर्नु भन्ने हो । २० प्रतिशत काम सम्पन्न गराउन कम्पनीलाई दबाब दिइरहेका छौँ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया