Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयात्रुहरु होल्डिङ सेन्टरबाट सिधै घर जान थालेपछि व्यवसायी मर्कामा

यात्रुहरु होल्डिङ सेन्टरबाट सिधै घर जान थालेपछि व्यवसायी मर्कामा


बाँके ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका जमुनाहमा बनाइएको होलिडङ सेन्टरकै कारण यतिबेला बसपार्क क्षेत्रका व्यापार बन्दजस्तै बन्नपुगेको छ । चाडबाडका बेला मनग्य व्यापार व्यवसाय हुने गरेकोमा यसपटक त्यसो हुन सकेन । फाट्टफुट्ट केही व्यापार भए पनि सोचेजस्तो नभएको स्थानीय होटल व्यवसायी बताउँछन् ।

कोरोना कहरमा त्रासका बीच जीविकोपार्जनकै लागि भए पनि केही व्यापार व्यवसाय हुने आशा गरेका बेला जमुनाह क्षेत्रबाटै मनपरी यातायात सञ्चालन गरिदिँदा उनीहरुले सास्ती खेप्नुपरेको हो । बिचौलिया र दलालको मिलेमतो तथा ठूला व्यवसायीको दादागिरीले यतिबेला जमुनहा क्षेत्र बसपार्कमा परिणत बनेको छ । यसको नियामक कार्यालय तथा सम्बद्ध सरोकार गैरजिम्मेवार र उदासीन बन्दा बसपार्क क्षेत्रको व्यवसाय धरापमा परेको हो । भारतबाट नेपाल आउनेहरु होल्डिङ सेन्टरमा रहने र त्यहीबाट गाडी चढेर घर जाने गरेकाले बसपार्क क्षेत्रका व्यवसायीको व्यापार व्यवसाय हुनसकेको छैन ।

कोरोना महामारीका बीच नजिकिएको चाडबाडमा नेपालगञ्ज बसपार्क क्षेत्रका होटल, व्यवसाय सुनसान छ । सरकारले सार्वजनिक यातायात खुला गरे पनि बसपार्क क्षेत्रभन्दा फरक क्षेत्रबाट मनपरी यातायात सञ्चालन भएपछि यतिबेला उनीहरुलाई मार परेको छ । जमुनाहा नाकामा सञ्चालन भइरहेको होल्डिङ सेन्टर तत्काल बन्द गर्नुपर्ने, नभए होल्डिङ सेन्टरबाट छुट्ने सवारीसाधन बसपार्क जानुपर्ने वा यात्रुहरूको गन्तव्यसम्म नै जानुपर्ने, पहुँच वा ठूला व्यवसायीको सवारीसाधन जुनसुकै स्थानबाट सञ्चालन हुन पाउने कार्य बन्द हुनुपर्ने, जमुनाहा चौकी क्षेत्रमा हुने गरेको विकृतिलाई बन्द गर्नुपर्ने, कुनै पनि सवारीसाधनले सुरक्षाका मापदण्ड पूरा नगरेकोले सबैले पूरा गर्नुपर्ने माग गर्दै व्यवसायी आन्दोलनरत रहेका छन् ।

यसैबीच सार्वजनिक सवारीसाधन व्यवस्थित गर्नुपर्ने भन्दै नेपालगञ्जका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । यसअघि ११ बुँदे माग राख्दै आन्दोलित बनेका नेपालगञ्जका व्यवसायीहरुले आफ्नो मागको सम्बोधन नभएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका अगाडि धर्ना दिएका हुन् । धर्नाका क्रममा बोल्दै ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश सभापति प्रेम बहादुर खत्रीले सवारीसाधन तोकिएको ठाउँभन्दा फरक ठाउँबाट सञ्चालन भइरहेकोले कार्य व्यवस्थापन हुन नसक्दा बसपार्क रोडका व्यवसायीहरूको व्यवसाय समस्यामा परेकाले निश्चित ठाउँबाट मात्रै सञ्चालन गर्नुपर्ने बताए ।

यसअघि व्यवसायीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघलाई उक्त अनुरोध गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया