Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचरीकोटमा कर कार्यालय स्थापना

चरीकोटमा कर कार्यालय स्थापना


सुबास बस्नेत
दोलखा ।
जिल्लाभित्र रहेका व्यवसायीहरुलाई लक्षित गरेर दोलखाको सदरमुकाम चरीकोटमा पहिलोपटक कर कार्यालय स्थापना भएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलले शुक्रबारदेखि सदरमुकाम चरीकोटबाट करदाता सेवा सुरु गरेको हो । योसँगै जिल्लाका साना व्यवसायीहरु लाभान्वित हुने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले करदाता सेवा कार्यालयलाई नै प्यान नम्बर प्रदान गरी सेवा सुरु गरेका थिए । प्रजिअ शिवाकोटीले करदातालाई रहरले कर तिर्ने वातावरण सिर्जना गर्न कर्मचारीहरुलाई आग्रह गरे । जिल्लाबाट सेवा सुरु भएसँगै साना व्यवसायीलाई धेरै सहज हुने र करदाता संख्या पनि थपिने अनुमान गरिएको करदाता सेवा कार्यालय दोलखाका प्रमुख रामकुमार श्रेष्ठले बताए ।

कार्यालय सञ्चालनमा आएसँगै व्यक्तिगत प्यान, व्यावसायिक प्यान र भ्याट दर्ता तथा खारेज, करचुक्ता प्रमाणपत्र प्रदान, कर विवरण, आय विवरण, अन्तःशुल्क विवरण बुझाउनेलगायतका सेवा लिन जिल्लाबाहिर जानु नपर्ने प्रमुख श्रेष्ठको भनाइ छ । चालू आर्थिक वर्षको असोज २८ गतेसम्म दोलखा जिल्लामा १० हजार तीन सय नौवटा प्यान तथा भ्याट दर्तामा रहेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा दोलखाबाट प्यान, भ्याट र अन्तःशुल्कबापत १५ करोड २७ लाख ७४ हजार तीन सय दुई रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । जिल्लामा व्यक्तिगत प्यान दुई हजार दुई सय ९४, व्यावसायिक प्यान छ हजार आठ सय आठ, भ्याट एक हजार १८, सरकारी कार्यालयको प्यान ४४, शैक्षिक प्यान १६, स्वास्थ्य प्यान आठ, अन्तःशुल्क ५१ वटा गरी कुल १० हजार तीन सय नौ करदाता रहेको कार्यालयको तथ्यांक छ । जिल्लामै कर कार्यालय स्थापना भएसँगै स्थानीय व्यवसायीहरु कर तिर्न अन्यत्र जानुपर्ने झन्झठबाट मुक्त भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया