Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविगतमा झैं बिकेनन् खसी र राँगा

विगतमा झैं बिकेनन् खसी र राँगा


किरण पौडेल
इलाम ।
विगतका वर्षमा दशैँको एक महिनाअगावै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दशैँका बेला व्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे र अग्रिम भु्क्तानी छाडेर बजार फर्किन्थे र दशैँ लागेपछि लिन जान्थे । बजारमा मासु किन्नेको भीड हुन्थ्यो तर यसवर्ष भने यतिबेलासम्म पनि न व्यवसायीले खसी/राँगा किनेका छन्, न त मासुका लागि ‘अर्डर’ आएको छ । दशैँ लागिसक्दा पनि खसी÷राँगा किनबेच शून्यजस्तै भएको छ ।

बन्दाबन्दी (चैत–असार)मा सुस्ताएका मासु पसल बन्दाबन्दी हटेपछि चलमलाए पनि गत महिनादेखि फेरि सुस्ताएकामा दशैँ लागिसक्दा चलमलाउन सकेका छैनन् । बाहिरी जिल्लामा खसी/बोकाको बिक्री बढेकाले पनि जिल्लामा व्यापार सुस्ताएको सदरमुकामस्थित माल्दाइ मासु पसलका सञ्चालक टेकबहादुर श्रेष्ठ बताउँछन् ।

उनका अनुसार गाउँगाउँबाट खसी/बोका किनेर काठमाडौँ, विराटनगर (मोरङ), बिर्तामोड (झापा) लगिएकाले जिल्लामा खसी व्यापार सुस्ताएको हो । ‘किलोका हिसाबले खसी बोका किनेर अन्यत्र लगेपछि व्यापार छैन’, श्रेष्ठले भने, ‘गएका वर्षको जस्तो दशैँका लागि स्टक राख्ने खसीबोका नै यो वर्ष छैन । कोरोनाले परिवार एकै ठाउँमा भेला हुन नसकेकाले यस वर्ष मासुको ‘अर्डर’ पनि नआएको हुनसक्छ ।’ खसी, बोका र राँगाको कारोबारभन्दा अहिले कुखुराको कोरोबार भने केही बढे पनि विगतका वर्षमा जस्तो कुखुराको मासुको माग पनि नआएको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष दिनेश महत बताउँछन् ।

कुखुराको मासु अधिकांशले खाने भए पनि यसवर्ष अनुमान गरिएभन्दा निकै कमले किन्न आएको उनको भनाइ छ । ‘केही हदसम्म त बढेको छ तर सदाजस्तो छैन’, अध्यक्ष महत भन्छन्, ‘लोकल र ब्वायलर दुवै कुखुराको किनबेच सुस्ताएको छ । अहिले किनेको कुखुरा पनि तिहारपछिका लागि हो ।’ उनका अनुसार जाडो यामका लागि यतिबेलै कुखुराको चल्ला किनबेच हुन्छ तर जाडो यामका लागि कुखुरा किने पनि अहिलेका लागि भने खासै कुखुराको किनबेच भएको छैन । अरुबेलाको तुलनामा दशैँमा मासुको कोरोबार झण्डै तेब्बर हुन्थ्यो ।

मासुजन्य पशु–पन्छी बिक्री हुने मुख्य याममै कोरोनाको महामारीले सताएकाले तिनको कोरोबार नबढेको इलाम नगरपालिका पशु हाट कर संकलक एवं सचिदानन्द सेवा केन्द्रका सञ्चालक रमेश श्रेष्ठले बताए । ‘धेरै खसीबोका त जिल्लाबाहिर लगेर पनि जिल्लामा कम कारोबार भएको हो’, उनी भन्छन्, ‘अहिले कोरोनाले परिवार नै तितरबितर भएर भेला नभएकाले र कतिपयको क्रयशक्ति पनि घटेकाले पनि मासुको कारोबार नभएको हो ।’ जिल्लामा अहिले खसीको मासु प्रतिकिलो आठ सय रुपैयाँमा र ब्वायलर कुखुराको मासु प्रतिकिलो तीन सय ८० रूपैयाँदेखि चारसयमा किनेबेच भइरहेको छ ।

ब्वायलरमा बिचौलीयाको मनोमानी : ब्वायलर कुखुराको मासु किनबेचमा बिचौलीयाले बढी नाफा लिएको पाइन्छ । अहिले उत्पादकबाट संकलकले प्रतिकिलो ब्वायलर कुखुरा दुई सय ३० रुपैयाँमा किनेर दुई सय ४५ रुपैयाँमा फ्रेस हाउसमा बेच्ने गरेका छन् भने फ्रेस हाउसले ब्वायलरको मासु तीन सय ८० रुपैयाँदेखि चार सय रुपैयाँसम्म लिने गरेका छन् । कुखुरा किनेको मूल्यको दोब्बर नाफा लिएर फ्रेस हाउसले मासु बिक्री गरेको देखिन्छ । ठूलो रकम नाफा लिएर बेच्दा पनि फ्रेस हाउस सञ्चालकले मासु बनाउन झन्झट हुने भएकाले बढी रकम लिनुपरेको बताउने गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया