Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएम्नेस्टीद्वारा कतारमा घरेलुु कामदारले भोगेका समस्यासम्बन्धी प्रतिवेदन सार्वजनिक्

एम्नेस्टीद्वारा कतारमा घरेलुु कामदारले भोगेका समस्यासम्बन्धी प्रतिवेदन सार्वजनिक्


काठमाडौं ।
एम्नेस्टी इन्टरनेशनलको एउटा नयाँ प्रतिवेदनले अत्यधिक कामको बोझ, विश्रामको अभाव, दुव्र्यवहार र अपमानजनक व्यवहारका कारण कतारमा कार्यरत आप्रवासी घरेलु श्रमिकहरू कसरी विक्षिप्त हुने अवस्थामा धकेलिएका छन् भनेबारे खुलासा गरेको छ । आवासीय घरेलु श्रमिकको रूपमा कतारमा कार्यरत १०५ जना महिलाहरूसँग यस संस्थाले कुराकानी गरेको थियो । सरकारद्वारा श्रमिकको काम गर्ने स्थिति सुधार्ने उद्देश्यले भएका प्रयासहरूका बाबजुद अझै पनि उनीहरूको अधिकारको दुर्व्यवहार र उल्लंघन भइरहेको पाइयो । केही महिलाहरूले त आफूहरू यौन दुर्व्यवहारजस्तो गम्भीर अपराधको शिकार भएको समेत बताएका छन् ।

सन् २०१७ मा कतारले घरेलु श्रमिक ऐन लागू गरेको थियो जसले काम गर्ने दैनिक समयसीमा तोक्नुका साथै अनिवार्य दैनिक विश्राम, हप्ताको एक दिन विदा र तलबी विदाको व्यवस्था गरेको थियो । तीन वर्ष बितिसक्दा पनि एम्नेस्टीले सम्पर्क गरेका १०५ मध्ये ९० महिलाले नियमित रूपमा प्रतिदिन १४ घण्टाभन्दा धेरै काम गरेको जनाएका छन् । त्यस्तै ८९ जनाले नियमित रूपमा हप्ताको सातै दिन काम गरेको र ८७ जनाले त उनीहरूको रोजगारदाताले आफ्नो राहदानीसमेत जफत गरेको बताएका छन् । आधाजसो महिलाले दैनिक १८ घण्टाभन्दा धेरै काम गरेको र सबैले एक दिन पनि कहिल्यै विदा नपाएको बताए ।

केहीले उचित पारिश्रमिक नपाएको र ४० जना महिलाले त आफूलाई अपमान गरिएको, झापड हानिएको र थुकिएको समेत जनाएका छन् । एक महिलाले आफूलाई ‘कुकुरसरह’ व्यवहार गरेको बताइन् । ‘सन् २०१७ मा ल्याइएको घरेलु श्रमिक ऐन कतारमा श्रमिकअधिकार संरक्षणको सवालमा भएको एउटा अग्रगामी कदम थियो । तर दुःखद कुरा के छ भने हामीले कुरा गरेको महिलाका अनुभवहरूले यी सुधारहरूलाई ठीकसँग कार्यान्वयन वा लागू नगरिएको स्पष्ट भएको छ’, एम्नेस्टीका आर्थिक, सामाजिक न्याय शाखाका प्रमुख स्टिभ कक्बर्नले भने, ‘घरेलु श्रमिकहरूले हामीलाई दिनको औसत १६ घण्टासम्म र हप्तैभरि काम गरेको सुनाए जुन कानुनले निर्धारण गरेभन्दा धेरै हो ।

लगभग सबैको राहदानी रोजगारदाताले जफत गरेका थिए र अन्यले भने आफ्नो पारिश्रमिक नपाएको र आफूलाई क्रूर आक्रमण र अपमानको शिकार बनाइएको विवरण दिएका छन् । यो समग्र अवस्थाले कतारमा रोजगारदाताले घरेलु श्रमिकलाई मानिसभन्दा वस्तुको रूपमा व्यवहार गर्न पाउने प्रणाली विद्यमान रहेको चित्रण गर्दछ ।’

कतारमा लगभग १ लाख ७३ हजार घरेलु आप्रवासी श्रमिकहरू छन् । एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएका केही महिलाहरू अझै उनीहरूको काममा थिए । केही भने काम छाडिसकेका भए पनि कतारमै बसिरहेका थिए । अन्य श्रमिकहरू भने आफ्नो देश फर्किसकेका थिए । श्रमिक महिलाहरूले विवरण दिएका रोजगारदाताहरू पनि विभिन्न देशबाट आएका थिए । पहिचानको गोपनीयताका लागि सबैको नाम परिवर्तन गरिएको छ ।

घरेलु श्रमिक ऐन पालना भएको सुनिश्चतताका लागि आवश्यक निरीक्षण संयन्त्रको अभाव र रोजगारदातालाई आफ्नो श्रमिकहरूमाथि अत्यधिक नियन्त्रण गर्ने अधिकार दिइराखेको कतारको स्पोन्सरसिप प्रणालीलगायत अन्य विविध कारक तत्वहरूको सम्मिश्रणको परिणामस्वरूप यस प्रतिवेदनमा अभिलिखित । दुर्व्यवहारहरू फस्टाएका हुन् । दुर्व्यवहार र आपराधिक कार्यहरूविरुद्ध अधिकारीहरूसमक्ष उजुरी दिन महिलाहरूले अनेक व्यवधानहरू सामना गर्नुपर्दछ र यसले गर्दा दण्डहीनता व्यापक छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया