Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता


हुम्ला ।
हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम सुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ । विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ ।

गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने भएको हो । विगतका वर्षमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गर्थ्यो । यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउन नसकिएको लिमीका गिरमेत तामाङले गुनासो गरे ।

वर्षेनी चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमीकोटबाट वितरण गरिने चामलको भर पर्नुपरेको तामाङले बताए । लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न सुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकी तामाङले बताइन् । उनका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य सङ्कट भएको थियो । ‘अब हिउँदको तीन महिना लगातार हिमपात हुने गर्छ, हिमपातले बाटो बन्द हुन्छ, यो समयमा हामी लिमीवासीलाई थप खाद्य सङ्कट निम्तिनेछ’, उनले भनिन् ।

लिमीका लागि दुई हजार क्वीन्टल खाद्यान्न स्वीकृत भइसकेको र ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमीकोटका प्रमुख रामबहादुर विष्टले बताए । लिमीमा खाद्य सङ्कट भएको गुनासो आएपछि तत्कालका लागि तीन सय क्वीन्टल चामल लिमीवासीलाई वितरण गरेको र बाँकी चामल ढुवानी भएपछि लगत्तै पठाइने प्रमुख विष्टले बताए । जिल्ला खाद्य व्यवस्था समितिको बैठकले जिल्लाभरिका लागि ७३ हजार क्वीन्टल चामल माग गरेको छ तर माग गरेको मध्ये अहिले २५ हजार आठ सय क्वीन्टल मात्र चामल स्वीकृत भएको छ ।

सदरमुकामका लागि मात्रै १७ हजार क्वीन्टल चामल माग हुँदा १० हजार क्वीन्टल स्वीकृत भएको छ । चार हजार ५० क्वीन्टल चामल हवाइ मार्गबाट सिमकोट खाद्य संस्थानमा पुगेर वितरण गरेर पनि तीन हजार एक सय क्वीन्टल चामल मौज्दात रहेको शाखा प्रमुख विष्टले जानकारी दिए । यस्तै सर्केगाड र अदानचुली डिपोका लागि दुई/दुई हजार क्वीन्टलका दरले स्वीकृत भएको छ । छप्रेला वितरण केन्द्रका लागि पाँच सय, याङगचु एक हजार र यो वर्ष स्थापना भएको तुम्चा वालुकुनाका वितरण केन्द्रका लागि आठ सय क्वीन्टल चामल स्वीकृत भएको तर बाटो समस्याका कारण ढुवानी हुन सकेको छैन ।

श्रीनगर डिपोमा एक सय ५० क्वीन्टल र सर्केगाड डिपोमा एक सय क्वीन्टल चामल मौज्दात रहेको छ । ठेकेदार कम्पनीले समयमै ढुवानी गरेमा यो वर्ष विगतका वर्ष जस्तो हुम्लामा चामलको सङ्कट नहुने देखिएको छ । स्थलमार्गबाट नेपालगञ्जबाट सिमीकोट शाखाका लागि प्रतिक्वीन्टल पाँच हजार नौ सय ९० रुपैयाँ, सुर्खेतदेखि सिमीकोटका लागि पाँच हजार चार सय ९० रुपैयाँ, धनगढीदेखि सिमीकोटसम्म छ हजार एक सय रुपैयाँ, नेपालगञ्जदेखि यान्चुसम्म पाँच हजार रुपैयाँ, सुर्खेतदेखि यान्चुसम्म चार हजार आठ सय रुपैयाँ ढुवानी लाग्ने गरेको छ ।

यस्तै हवाइ मार्गबाट प्रतिकेजी नेपालगञ्ज–सिमीकोटको एक सय १३ रुपैयाँ र सुर्खेत–सिमीकोट ढुवानी गर्दा एक सय आठ रुपैयाँ पर्ने गरेको विष्टले बताए । कर्णालीका अन्य जिल्लाभन्दा हुम्लाका लागि चामलको कोटा माग गर्दा केन्द्र सकारात्मक देखिएकाले विगतका वर्षजस्तो ३० केजी चामलका लागि पाँच हजार रुपैयाँ तिर्नुपर्ने अवस्था हुन नदिने नहुने विष्टले बताए । खाद्यान्न ढुवानीको जिम्मा सीता र तारा एयरले लिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया