Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँकेका १५ वटा व्यावसायिक प्रतिष्ठानहरू कारबाहीमा

बाँकेका १५ वटा व्यावसायिक प्रतिष्ठानहरू कारबाहीमा


जिएम यादव
बाँके ।
बाँकेमा विभिन्न समय र स्थानहरूमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ताहरू ठगिएका सिकार भइरहेको तथा बिक्रेताहरूले हरेक कुरामा मनपरी गरिरहेको पाइएको छ । बजार अनुगमनका क्रममा म्याद नाघेका, आखाद्य वस्तुको बिक्रीदेखि खसी भनेर बाख्रीको मासु बिक्री गरेकोसम्म फेला परेको छ । अनुगमनका क्रममा मनपरी गर्ने व्यावसायिक फर्मलाई बजार अनुगमन समितिले कारबाही गर्दै आएको छ । स्थानीय तथा जिल्लाको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेको बेतिथि नियन्त्रण तथा कारबाहीका लागि अनुगमन गर्दै आएको छ ।

संयुक्त बजार अनुगमन समिति तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज मातहत भएको अनुगमनमा पहिलो चौमासिकमा १५ वटा व्यावसायिक प्रतिष्ठानहरू कारबाहीमा परेका छन् । बजार अनुगमनका क्रममा मापदण्डविपरीत कार्य गर्ने व्यावसायिक प्रतिष्ठानहरूलाई वाणिज्य कार्यालयले कारबाही गरेको हो । १५ मध्ये छवटा फर्मलाई जरिवानालगायतको कारबाही र ९ वटा फर्मलाई कारोबार रोक्का एवं शिलबन्दी गरिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले दिएको जानकारी अनुसार, पहिलो चौमासिकमा १५ वटा व्यावसायिक प्रतिष्ठानलाई विभिन्न किसिमको कारबाही गरिएको छ ।

वाणिज्य कार्यालयले चालू आवको पहिलो चौमासिकमा एउटा प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योग कारबाहीमा परेको जानकारी दिएको छ । पानी उद्योगले मापदण्डविपरीत पानी उत्पादन तथा बिक्रीवितरण गरेको फेला परेपछि वाणिज्यले कारबाही गरेको हो । तोरीको तेल उत्पादन गरी बिक्री गर्ने अर्को उद्योगले तोकिएको परिमाणअनुसार बोतलमा तोरीको नराखी बिक्री गरेको फेलापरे पनि उक्त उद्योग पनि वाणिज्यको कारबाहीमा परेको सूचना अधिकारी चौलागाईले दिएको जानकारीमा उल्लेख छ । खरिद बिल पेस नगर्ने र उपभोक्ता म्याद समाप्त भएका वस्तु बिक्री गर्ने तीनवटा फर्म पनि कारबाहीमा परेका छन् । त्यस्तै, ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने एउटा पसल पनि जरिवानामा परेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले चालू आवको प्रथम चौमासिकमा खाद्य अनुज्ञापत्र नलिई प्याकेजिङ गर्ने तीनवटा फर्मको कारोबार रोक्का तथा सिलबन्दीको कारबाही गरिएको जानकारी दिएका छन् । एक स्थानमा अनुमति लिई अर्कै स्थानमा डेरी सञ्चालन गर्ने २ फर्म, शंकास्पद पानी देखिएको १ फर्म, मापदण्डविपरीतका दुई डेरी उद्योग र एउटा मासु पसललाई कारबाही गरिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले पहिलो चौमासिकमा एक सय २८ वटा फर्म अनुगमन गरिएको जानकारी दिएको छ । जसमध्ये ७४ वटा व्यावसायिक फर्मलाई विभिन्न खालको सुधारात्मक निर्देशन दिइएको वाणिज्यका सूचना अधिकारी चौलागाईले जानकारी दिएका छन् ।

वाणिज्यले पहिलो चौमासिकमा दुई लाख ६८ हजार चार सय ४४ रूपैयाँ मूल्यबराबरको खान अयोग्य तथा उपभोग्य म्याद समाप्त भएका वस्तु तत्कालै नष्ट गरिएको र फिर्ता गर्न लगाइएको जानकारी दिएको छ । यसैबीच, वाणिज्य कार्यालयले चालू आवको पहिलो चौमासिकमा ४६ लाख ७७ हजार पाँच सय ५० रूपैयाँ राजस्व असुल गरेको छ । वाणिज्यले दर्ता, नवीकरण तथा जरिवाना लगायतबाट उक्त राजस्व असुली गर्ने भएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया