Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलकडाउनपछि फस्टाउँदै अनलाइन व्यापार

लकडाउनपछि फस्टाउँदै अनलाइन व्यापार


काठमाडौं ।
पछिल्लो समय मुलुकमा अनलाइन व्यापार तीव्र गतिमा फस्टाउँदै गएको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनपछि अनलाइन व्यापार थप बढ्दै गएको व्यवसायीहरूले बताएका छन् । उपभोक्ताले अनलाइनबाट सामान अर्डर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । २० वर्षअघि डिजिटल बजारको अवधारणा आए पनि पछिल्लो १० वर्षको अवधिमा मुलुकमा धेरै नै अनलाइन व्यापार विस्तार हुँदै गएको व्यवसायीहरूको भनाइ छ ।

ब्राण्डवर्थ प्रालिले आयोजना गरेको फोन–पे डिजिटल इकोनोमी कन्क्लेभमा सहभागी सरोकारवालाहरूले लकडाउनपछि अनलाइन व्यवसाय विस्तार हुँदै गएकाले यसलाई नियमनसँगै व्यवस्थित बनाउन आवश्यक रहेको बताए । सस्तो डिलका सञ्चालक अमन थापा पछिल्लो समय अनलाइन व्यवसाय फस्टाउँदै गएको भन्दै अहिले वार्षिकरूपमा एक सय ५० प्रतिशतका दरले अनलाइन व्यापार बढेको जानकारी दिए । १० वर्षअघि ९ प्रतिशत मात्र इन्टरनेटको सुविधा भएकोमा अहिले मुलुकभर इन्टरनेट पहुँज बढ्दै गएकाले अनलाइन व्यापार पनि फस्टाउँदै गएको उनको भनाइ छ । अहिले स्मार्ट फोनको प्रयोग ५० प्रतिशतले बढेकाले पनि अनलाइन व्यापार पहिलो नम्बरको व्यापार बन्न गएको बताउँदै उनले अनलाइन पेमेन्ट प्रणाली जटिल भएकाले सहजीकरण गर्न अति आवश्यक रहेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गणेश पाण्डले अनलाइन व्यवस्थित र नियमन गर्नका लागि नीतिगतरूपमा कानुन बनाउन लागिएको जानकारी दिए । विभिन्न क्षेत्रगत कानुनले यस व्यापारलाई समेटेकाले थप व्यवस्थित बनाउनका लागि कानुनको विधेयकमा छलफल भइरहेको उनको भनाइ छ । नेशनल पेमेन्ट गेट–वे नहुँदा विदेशबाट अनलाइन व्यापारको भुक्तानी गर्न कठिन भएकाले यसलाई सहजीकरण गर्न लागिएको उनको भनाइ छ । मुलुकमा साना, घरेलु तथा मझौला उद्योगको क्षमता वृद्धि गरी अनलाइनमार्फत व्यापार गर्न चुनौतीरहेको उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया