Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेचासल्यान गाउँपालिकाभित्र नयाँ भाडादर निर्धारण

नेचासल्यान गाउँपालिकाभित्र नयाँ भाडादर निर्धारण


सोलुखुम्बु ।
नेचासल्यान गाउँपालिकाले नयाँ सवारी भाडादर निर्धारण गरेको छ । गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोला, यातायात व्यवसायी संघका प्रतिनिधि र प्रहरी प्रशासनका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो । यो भाडादर वैज्ञानिक समेत रहेको बताइएको छ । गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का वडाअध्यक्ष धर्मध्वज खत्रीले दिएको जानकारी अनुसार नागरिकको गुनासोपछि गाउँपालिकाले छलफल अघि बढाएको हो ।

व्यवसायीले मनोमानी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको जस्ता गैह्रकानुनी कार्य गरेको गुनासोपछि गाउँपालिकाले बैठकको आयोजना गरेको र सो बैठकबाट नयाँ भाडादर निर्धारण गरिएको हो । छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानले अबदेखि नयाँ भाडामा यात्रु ओसापसार गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

बैठकले नेचाबिहीबारे बजारदेखि काठमाडौंसम्मका लागि एक हजार सात सय रूपैयाँ भाडादर कायम गरेको छ । यस्तै, नेचाबिहीबारे र सल्यानदेखि इटहरीसम्मका लागि भने एक हजार आठ सय रूपैयाँ, नेचाबिहीबारेदेखि कटारीसम्मका लागि एक हजार दुई सय ५० रूपैयाँ भाडादर निर्धारण गरिएको प्रवक्ता खत्रीले बताए ।

साथै गाउँपालिकादेखि ओखलढुंगासम्मका लागि भने छ सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । गाउँपालिकाले दिएको जानकारीअनुसार नेचाबिहीबारेदेखि जिल्ला सदरमुकाम सल्लेरीसम्मका लागि पाँच सय रूपैयाँ, तिङ्ला रमितेसम्म चार सय रूपैयाँ, चुर्पुसम्म एक सय ५० रूपैयाँ, बासपुरासम्म तीन सय रूपैयाँ, दाल्दुखोलासम्म दुई सय रूपैयाँ, फेदी जेरोप्वाइन्टसम्म एक सय ५० रूपैयाँ नयाँ भाडादर कायम गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया