Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण सुरु

तीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण सुरु


चितवन ।
भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो । महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी सुरु गरिएको थियो । तत्कालीन समयमा सभागृह निर्माण गर्न सहरी विकास मन्त्रालयले ५५ करोड रूपैयाँ रकम विनियोजन गरेको भए पनि जग्गाको अभावमा सभागृह बन्न सकेको थिएन ।

नगरप्रमुख रेनु दाहालका अनुसार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पुगेसँगै विवाद भएपछि फिर्ता भएको थियो । त्यसपश्चात् पुनः छलफल अघि बढाएर जिल्ला समन्वय समिति मातहत रहेको चार बिघा चार कट्ठा जग्गा भरतपुर महानगरपालिकाको नाममा ल्याएर सभागृह निर्माणको प्रक्रिया अघि बढाइएको हो । दुवै ठाउँको जग्गा खोजी र आवश्यक प्रक्रिया पूरा गर्न तीन वर्षभन्दा बढी समय लागेको दाहालले बताइन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गाका लागि अस्पताल सञ्चालक समिति, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, भूमि सुधार मन्त्रालय, संघीय मामिला मन्त्रालय, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पु-याउँदा लामो समय लागेको थियो । क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्न जग्गा अभाव हुने भन्दै अन्यत्र खोज्न सुझाएपछि जिल्ला समन्वय समितिको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको हो । यससँगै बजेटको सुनिश्चिता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायतका सम्पूर्ण प्रक्रिया पु-याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता भएको हो । दाहालका अनुसार औपचारिक शिलान्यास कार्यक्रमपछि गर्नेगरी काम सुरु गर्न भनिएको छ ।

शीर्ष नेता र सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतको समय व्यवस्थापन गरेर पछि शिलान्यास गर्नेगरी काम अघि बढ्ने उनको भनाइ छ । दाहालले भनिन्, ‘महानगरको स्वामित्वमा रहने गरी निर्माण गरिने सभागृहले यहाँको गरिमा बढाउनेछ ।’ राजनीतिक दललगायत सबैको साथ र सहयोगका कारण परियोजना सुरु भएको उनले बताइन् । ‘सुरुआतीदेखि नै आफ्नो गृह जिल्लासमेत रहेकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस परियोजना सम्पन्न गर्न पहल गर्नुभयो । उहाँकै पहलका कारण सभागृह निर्माणको काम सुरु भयो’, उनले भनिन् ।

सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रूपन्देही र सहरी विकास डिभिजन चितवनबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास रोडसँगै जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सभागृह निर्माण हुनेछ । बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक एक अर्ब छ करोड रूपैयाँको रहेकोमा ७७ करोड ७७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो ।

सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै तीन सय क्षमताको कन्फरेन्स हल रहनेछ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । चारवटा भ-याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनको भनाइ छ ।

सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैंचा, दुई सय ५७ गाडी र तीन सय १७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको आकर्षक सभा बन्ने अर्यालले बताए । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सभागृह देशकै नमूना हुने पनि उनले बताए । ठेकेदार कम्पनीले १५ दिनभित्र काम थाल्ने गरी सम्झौता गरिएको छ । ठेकेदार कम्पनीका तर्फबाट आयोजना व्यवस्थापक नहकुल खड्काले सरसफाइको काम तत्काल हुने भन्दै अन्य काम पुस लागेपछि सुरु गरिने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया