Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसात हजारको परीक्षण गर्दा एक हजार २ सय १७ मा कोरोना

सात हजारको परीक्षण गर्दा एक हजार २ सय १७ मा कोरोना


काठमाडौं ।
बिहीबार सात हजार २ सय ३२ जनाको पीसीआर परीक्षण भएकामा एक हजार २ सय १७ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । परीक्षणमा सात सय ७४ पुरुष र ४ सय ४३ महिला गरी एक हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । अहिले देशभर १२ हजार ३ सय ६८ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार २४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६ सय १ रहेको छ । कोरोना निको हुने दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख छ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४४ पुरुष र १ सय ६० महिला गरी जम्मा ४ सय ४ जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएसँगै मृतकको कुल सङ्ख्या एक हजार ६ सय ६३ पुगेको छ ।

आइसियुमा उपचारत ३ सय ९ र भेण्टिलेटरमा जम्मा ५७ जना उपचाररत छन् । यस्तै, बिहीबार २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित १ सय ७५ कोरोना सङक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई/दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक/एक तथा प्रदेशबाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको राससले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ६ सय ७७ पुगेको छ भने बिहीबार ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४ सय ५२ जना निको भएर घर फर्किसकेका छन् ।

सोही अवधिमा ९ सय ३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १ सय ५९ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । यस्तै, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १ सय ३ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा नं १३ का ५१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै तनहँुको शुक्ला गण्डकी नगरपालिका वडा नं ८ का ७४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा गएको दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ९ सय ६२ जनाको नमूना परीक्षण गरिँदा २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा र डोटी जिल्लाका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । दुई दिनमा थपिएका सङ्क्रमितसमेत हालसम्म प्रदेशमा कोभिड–१९ का कुल सङ्क्रमित १२ हजार १ सय ४४ पुगेका छन् । उपचार व्यवस्थापनपछि नौ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका ६५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदेशमा अहिलेसम्म ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दै गएको छ । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख २३ हजार २ सय २२ को नमूना सङ्कलन गरिएकोमा एक लाख २२ हजार ६ सय ६४ को परीक्षण गरिएको छ । परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८० प्रतिशत हुन आउछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया