Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधघुमौँ सौराहा अभियान सुरु

घुमौँ सौराहा अभियान सुरु


चितवन ।
चितवनको पर्यटकीय नगरी सौराहामा पहिलोपटक पर्यटन प्रवर्द्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । नाकाबन्दी, भूकम्प, मुग्लिङ नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाइरससँगै ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीहरूको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान सुरु गरिने भएको हो ।

आन्तरिक पर्यटनमार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आकर्षित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसँगै व्यावसायिक भेटघाट राख्दै यही पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ वीरगञ्ज विविध कार्यक्रम गरिनेछ । ‘कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ’, अध्यक्ष दिपकले भने, ‘स्वदेशभित्र भने घुम्न र पर्यटकहरूलाई आकर्षित गर्न घुमौँ सौराहा अभियान सुरु गर्न लागेका हौँ ।’ चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिने योजनाअनुसार सुरु गरिने कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ आयाम थपिने होटल संघका महासचिव गुणराज थपलियाले बताए । कोरोनाका कारण घरमै बस्दा हैरान भएको व्यक्तिहरू घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषणा गर्ने संघले जनाएको छ । ‘हाम्रो उद्देश्य नेपालीहरूले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यताअनुसार सस्तो प्याकेजसहित घुमौँ सौराहा अभियान ल्याएका हौँँ’, थपलियाले भने, ‘यसले सबैलाई आकर्षित गर्नेछ ।’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया