Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधडिजिटल उद्यमशीलताको प्रवर्द्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा जोड

डिजिटल उद्यमशीलताको प्रवर्द्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा जोड


काठमाडौं ।
नेपालमा डिजिटल उद्यमशीलताको पर्याप्त सम्भावना रहेकोले यसको प्रवद्र्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा सरोकारवालाहरूले जोड दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार संयुक्तरूपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा सहभागीले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन् ।

मोबाइल सेवामा उच्च पहुँच, घट्दो डेटा शुल्क र युवाहरूको पर्याप्त संख्या रहेकोले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको लागि महत्वपूर्ण आधार समेत रहेको बताइएको छ । प्रविधिमा आधारित साना तथा मझौला उद्योगहरूको उच्च वृद्धिको प्रारम्भिक अनुभवले पनि नेपालमा यसको भविष्य विस्तार हुने सम्भावना उच्च देखाइएको छ । खासगरी निजी र सार्वजनिक क्षेत्रहरू असफल भएका आवश्यकतामा आधारित व्यावसायिक मोडलमा रहेको रिक्तता यस्ता किसिमका उद्यमशीलताले पूर्ति गर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा यस्ता किसिमका केही व्यवसायहरू असफल हुन सक्ने भए पनि भविष्यमा उनीहरूले आफ्नो अनुभवका आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताको रूपमा उदाउन सक्ने उल्लेख गरिएको थियो । क्षेत्रीय र विश्वव्यापीरूपमै पनि यस्ता उद्यमशीलताले आफ्नो पहिचान बनाउन सक्ने सम्भावना पनि रहेको सहभागीहरूको बुझाइ छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले उद्यमशीलता विकासमा देखिएका वास्तविक समस्याहरूको पहिचान गरेर त्यसको समाधानमा सरकारले गम्भीर भएर लाग्ने बताए । उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवर्द्धन गर्न सरकारले हौसला पनि दिनुपर्ने उनले बताए । आयोगले १५औं पञ्चवर्षीय योजनामार्फत नै उद्यमशील नागरिकको परिकल्पना गरेको र त्यसका लागि सहजीकरण गरिदिने उल्लेख गरेको उनले बताए ।

नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअप अवसर भए पनि आर्थिक र कानुनी चुनौतीलाई समाधान गरेर अनुकूल वातावरण बनाउन आवश्यक रहेको बताए । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमनभन्दा पनि लगानीकर्ता र सञ्चालकलाई नै सम्झौतामा खुला छोडिदिएको बताए । उद्यमशीलताका लागि आवश्यक पुँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको उनले बताए । नेपालमा उद्यमशीलताका लागि विदेशी पुँजी ल्याउने विषयमा केही छलफल भए पनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पूरा गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

कार्यक्रमको छलफल सत्रमा विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पुँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको बताए । तर संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरू नयाँ तरिकाबाट प्रवेश गरेकोले उद्यमशीलता विस्तार हुनसक्ने अवसर रहेको उनले बताए । वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको यूजीबजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताइन् । सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोश तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिस्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको बताए । विपे्रषणको रकमलाई उद्यमशीलतामा प्रयोग गर्नेगरी नीगित व्यवस्था भए त्यसले धेरै सहयोग पुग्ने उनको भनाइ थियो ।

विजनेस अक्सिजनकी लगानी प्रबन्धक रितु प्रधान मल्लले पुँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाइले निकै समस्या पारेको बताइन् । कार्यक्रममा डिजिटल उद्यमशीलताको विस्तारका लागि कानुनी तथा नियमन प्रावधानहरूको आवश्यकतालाई पनि सहभागीहरूले जोड दिए । डिजिटल उद्यमशीलताको लागि विशेषत निजी क्षेत्रको नेतृत्वमा साना तथा मझौला उद्योगहरूको प्रवर्द्धनमा सहयोगी हुने किसिमका कानुनी व्यवस्थाहरूको माग उनीहरूले गरे । परम्परागत रूपमा सञ्चालित साना तथा मझौला व्यवसायलाई प्रविधिमा आधारित बनाउने र नयाँ स्टार्टअपमा लगानी भित्र्याउन सक्ने आधारमा कार्यक्रम केन्द्रित थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया