
गलेश्वर ।
केही वर्षअघिसम्म गाउँघरमा रोजगारीको कुनै सम्भावना नदेखेर पैसा कमाउनका लागि अरबका मरुभूमिमा जाने युवाहरु पछिल्लो समयमा कृषि र उद्यमतर्फ आकर्षित भएका छन् । सरकारले कृषि र उद्यम गर्न चाहने युवाहरुलाई विभिन्न कार्यक्रममार्फत प्रोत्साहित गर्न थालेपछि उनीहरु आफ्नै खेतबारी र गाउँघरमा नै परिश्रम गर्न थालेका हुन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले विदेशबाट फर्केका र स्वदेशमा नै रहेर केही काम गर्न चाहने युवाहरुका लागि सहयोग र अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरी युवाहरुलाई कृषि र उद्यमसँग जोडेपछि यहाँका युवाहरु राहदानी थन्काएर कृषि र उद्यमतर्फ लागेका छन् । स्थानीय तहमा गठित कृषि शाखाको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाका छवटै स्थानीय तहका एक हजार ६ सय भन्दा बढी युवाहरु नेपालमा कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन (२०७६, चैत) यता व्यावसायिकरुपमा कृषि र उद्यमतर्फ लागेका छन् ।
करिब १८ वर्ष मलेसिया र खाडीका अन्य मुलुकमा बिताएर गाउँ फर्किएका बेनी नगरपालिका–१ का यामबहादुर थापा, ५ वर्ष साउदी अरब बसेर फर्किएका ज्यामरुककोटका हरि शर्मा, २० वर्ष मलेसियामा बसेका धु्रव थापा, मङ्गला गाउँपालिकाका महेन्द्र पौडेल, मालिकाका तुलबहादुर बुढालगायत कैयौँले अहिले गाउँमा नै लोभलाग्दो प्रगति गरिरहेका छन् । उनीहरुले सुरु गरेको व्यावसायिक तरकारी खेतीले अहिले उत्पादन दिन थालेको छ भने एक याममा तरकारी बेचेर मात्रै दुई लाख रुपैयाँभन्दा बढी कमाई गर्न सफल भएका छन् । मालिका गाउँपालिका–५ देविस्थानका २७ वर्षीय युवा तमबहादुर फगामी गत माघमा युएईबाट तीन वर्षपछि गाउँमा फर्किए ।
तीन महिनाको छुट्टी लिएर गाउँमा आएका फगामीको छुट्टी नसकिँदै देशमा लकडाउन भयो । पुनः फर्किएर युएई जाने वातावरण भएन । त्यसपछि उनले गाउँपालिकाको अनुदानमा तरकारी खेती र पशुपालन सुरु गरे । अहिले उनले तरकारी बेचेर मात्रै करिब तीन लाख कमाइसकेका छन् भने बाख्रापालन पनि सुरु गरेका छन् । ‘विदेश नजाने भनेर मैले त पासपोर्ट पनि थन्काइसकेँ, जान्न विदेश । गर्न सक्ने हो भने गाउँमा नै छ प्रशस्त सम्भावना’, हँसिला र फुर्तिला फगामीले भने, ‘खाडीलाई बाइबाई गरेर आफ्नै गाउँलाई हाइहाइ गर्ने हो अब ।’
फगामीले मात्रै होइन बेनी नगरपालिका–२ का राजु कार्की, गोपाल शर्मा, गणेश घिमिरेलगायत लामो समयसम्म विदेश बसेर फर्केका युवाहरु पनि अहिले धमाधम कृषि, होटल व्यवसाय र पशुपालनतर्फ लागेका छन् । उनीहरु सबैले विदेश जाने सपना अब सधैँका लागि अन्त्य भएको र गाउँमा नै सञ्चालन गरेको उद्यमलाई निरन्तरता दिने बताए । कोरोना महामारीले गाउँघरमै र आफनो खेतबारीमा उत्पादनका कामहरु गर्ने क्रम बढाएको पनि छ ।
मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले युवाहरु कृषि र उद्यमसँग जोडिनु सकारात्मक भएको बताए । ‘पछिल्लो समय कृषि र उद्यमतर्फ युवा आकर्षण रहरलाग्दो देखिएको छ’, प्राविधिक बानियाँले भने, ‘पासपोर्ट थन्काएर कृषि र उद्यमतर्फ लागेका युवाहरुलाई सरकारले प्रोत्साहित गर्न सक्नुपर्छ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
- सिटिजन्स बैंकका ग्राहकहरूलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट
- सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
- टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा
- रिम्याक अटोमोबिलीका मेट, जसले विद्युतीय हाइपर कार बनाउँछु भन्दा मानिसहरु हाँस्थे
- सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया