Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशमा ९४ दशमलव ५ प्रतिशत नेपालीले जिते कोरोना

विदेशमा ९४ दशमलव ५ प्रतिशत नेपालीले जिते कोरोना


काठमाडौं ।
विदेशमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्यरूपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ’कोभिड–१९’को संक्रमणमा परेकामध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार आठ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४९ हजार आठ सय ९२ जना कोरोनामुक्त भएका छन् ।

संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरूमा थप कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण विदेशका २१ देशमा तीन सय १२ जना नेपालीको निधन भएको छ ।

यस्तै विदेशमा रहेका गैरआवासीय नेपालीहरूले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरूले खोप लगाउन थालेका हुन् । हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरूले कोरोनाविरुद्धको खोप लगाइरहेको संघले जनाएको छ ।

नयाँ प्रकारको भाइरसबाट बच्न संघको आग्रह : बेलायतमा नयाँ स्वरूपमा कोरोना भाइरस संक्रमण तीव्ररूपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ । स्वास्थ समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन(उत्परिवर्तित) भएर अर्थात् त्यसको गुणहरूमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन(स्वरूप)हरू बनिसकेको अवस्था छ ।

हालसम्मको अध्ययनका अनुसार उत्परिवर्तित भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको छ । हाल लन्डन र दक्षिणपूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ । युरोपेली संघअन्तर्गतका ८ मुलुकहरूसहित, केही अफ्रिकी मुलुकहरू पनि यो भाइरस तीव्ररूपमा फैलिएको पाइएको भन्दै समितिले अत्यावश्यक बाहेकका यात्रा नगर्न त्यहाँस्थित नेपालीहरूलाई अनुरोध गरेको छ ।

डा. सापकोटाका अनुसार हाल जति पनि खोप बनिरहेका छन्, ती अन्तिम परीक्षणमा छन् । ती भ्याक्सिनले उत्परिवर्तित भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र चासो छ । यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ । विशेषतः केही युरोपेली मुलुकहरू र बेलायतमा हाल लकडाउन र कडा खालको प्रतिबन्ध लगाइएकोले पनि कुनै समस्या परे त्यहाँस्थित गैरआवासीय नेपाली संघअन्तर्गतका राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ । संयोजक डा. सापकोटाले भिडभाडमा नजान, जानु परे पनि दुई मिटरको दूरी कायम राख्न, बाहिर जाँदा अनिवार्यरूपमा मास्क लगाउन र साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाव दिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया