Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमनकामना केबुलकार बन्द हुने

मनकामना केबुलकार बन्द हुने


मुग्लिन ।
मनकामना केबुलकार सेवा एक साताको लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको मनकामना दर्शन प्रालिले जनाएको छ । मंगलबारदेखि पुस २० गतेसम्म केबुलकार बन्द गरिनलागेको कम्पनीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताए ।

यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समय तालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको उनको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिए । उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ । सोही बटम स्टेसनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया