Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचिसो बढेपछि कालोपत्रे गर्न समस्या

चिसो बढेपछि कालोपत्रे गर्न समस्या


दोलखा ।
चिसो बढेपछि चरीकोट–जिरी सडकखण्डको कालोपत्रे गर्न समस्या भएको छ । चरीकोटदेखि जिरीसम्म जोड्ने चरीकोट–जिरी सडकखण्डको हालसम्म १५ किलोमिटर कालोपत्रे भएको छ । चरीकोट–जीरी सडकखण्डको चरीकोटदेखि तामाकोशीसम्म १७ किलोमिटर सडक पुस अन्त्यसम्म कालोपत्रे गरिसक्ने लक्ष्य लिए पनि चिसो बढेपछि समस्या भएको निर्माण कम्पनीले जनाएको छ । जाडो मौसममा कालोपत्रे गर्न तापक्रम नपुग्ने हुँदा कालोपत्रको काममा असर पुगेको हो । गत चैतदेखि कालोपत्रेको काम सुरु गरिए पनि कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण काममा ढिलाइ भएको निर्माण कम्पनी उडहिल/लामा जेभीका मुख्य परामर्शदता राजेन्द्र पौडेलले बताए ।

चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडकखण्डको चरीकोटदेखि तामाकोशी नदिसम्म १७ किलोमिटर छ । अब यस खण्डमा करिब २ किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी छ । उक्त माघभित्रमा पूरा हुने पौडेलले जानकारी दिए । अहिले पनि मौसम सुधार हुँदा तापक्रम हेरेर तामाकोशीसम्मको खण्डमा कालोपत्रेको काम जारी छ । काठमाडौँबाट जिरी जोड्ने मुख्य राजमार्गको रूपमा रहेको यस खण्डको काम डेढ वर्षअघि सुरु भएको हो । अहिलेसम्म कम्पनीले चरीकोटदेखि तामाकोशीसम्म कालोपत्रे सकाउन लागेको छ । त्यस्तै तामाकोशीदेखि जिरीसम्म ग्याबिन, पुल, नाली, टेवा पर्खाल, कल्भर्टको काम भइरहेको छ । तामाकोशीदेखि जिरीको बीचमा रहेको नाम्दुदेखि मैनापोखरीसम्मको खण्डमा सब बेसको काम समेत सकिएको छ ।

कम्पनीले तामाकोशीदेखि नाम्दुसम्ममा समेत कालोपत्रे हाल्ने तयारी थालेको छ । सडकको परामर्शदाता सिमत–ईआरएमसी जेभी रहेका छन् । सडकका परामर्शदाता प्रमुख पौडेलले महामारीको बीचमा पनि स्वास्थ्य नै जोखिममा राखेर काम गरिरहेको बताए । उक्त सडक विस्तार भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक भइरहेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया