Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधश्रम बजारलाई व्यवस्थित बनाउने परियोजना सुर्खेत र धनगढीमा सञ्चालन

श्रम बजारलाई व्यवस्थित बनाउने परियोजना सुर्खेत र धनगढीमा सञ्चालन


काठमाडौं ।
नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरुबीच सम्झौतापत्रमा हस्ताक्षर भएअनुसारको प्रदेशस्तरीय कार्यक्रमको थालनी भएको छ । उक्त कार्यक्रम सुर्खेत र धनगढीमा सञ्चालनमा आएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशको प्रदेशस्तरीय कार्यक्रमको कर्णाली प्रदेशसभाका सभामुख राज बहादुर शाहीले आइतबार उद्घाटन गरेका थिए । सभामुख शाहीले विकासका कार्यलाई आधुनिकता दिनका लागि दक्ष कामदार उत्पादन गर्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताए । निजी क्षेत्र सरकारको विरोधी नभएको भन्दै शाहीले आपसी सहकार्यमा समृद्ध नेपाल निर्माण गर्न सकिने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमान बहादुर खड्काले श्रम बजारलाई व्यवस्थित गर्न, दक्ष जनशक्ति उत्पादन गर्न र निजी क्षेत्रलाई दक्ष कामदार उत्पादनमा सरकारले सहयोग गरेमा थप प्रभावकारी नतिजा आउने बताए । होटल संघ नेपालका केन्द्रीय सदस्य जनक सिंह ठकुरीले विदेशिने युवालाई रोकेर सीपयुक्त बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले यस्ता कार्यक्रम निजी क्षेत्रका लागि महत्वपूर्ण र उपलब्धिमूलक भएकोले सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । श्रम बजारका सूचनाहरुलाई व्यवस्थित बनाउनु परियोजनाको प्रमुख उद्देश्य रहेको छ । परियोजनाको प्रमुख कार्यहरु व्यावसायिक वर्गीकरणस्तरको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने लगायतका रहेको महासंघका वरिष्ठ उपाध्यक्ष एवं ईएलएमएस प्रोजेक्ट कोअर्डिनेसन कमिटी सदस्य निकोलस पाण्डेले बताए ।

कार्यक्रममा निर्माण व्यवसायी एकता समाज सुर्खेतका अध्यक्ष जनक बहादुर रावलले स्वागत मन्तव्य राखेका थिए भने कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका मोहन प्रकाश आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय कार्यक्रम सोमबार धनगढीमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर बडले आफूले बनाएको गुरुयोजनाअनुसारका कार्य गर्न र स्थानीयस्तरको श्रम बजारलाई अध्ययन गर्न लागेको यस परियोजनाले प्रभावकारी रुपमा काम गरेर सफलता हासिल गर्ने बताएका थिए । निजी क्षेत्र र स्थानीय सरकार मिलेर विकासका कार्यहरुमा हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । साझेदार संस्था र स्थानीय सरकारको सहकार्यमा यो परियोजना सफल हुने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमित केडियाले श्रम बजारलाई व्यवस्थित गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न सरकारले सहयोग गरेमा कार्यक्रम थप प्रभावकारी हुने बताए । घरेलु तथा साना उद्योग विकास महासंघ कैलालीका अध्यक्ष पुष्कल कर्माचार्यले साझेदार संस्थाहरु मिलेर कार्य गरे परियोजनाको नतिजा राम्रो आउने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष चेतराज भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त परियोजना कार्यान्वयन हुने क्षेत्र कृषि, निर्माण र पर्यटन रहनेछन् । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिना र कुल बजेट १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ हुनेछ । यस परियोजनाले निजी क्षेत्रको निर्माण, कृषि र पर्यटन क्षेत्रको समग्र सीप पहिचान गरी आवश्यक सीपलाई एक रुपता काम गरी नेपाल सरकार (संघीय, प्रादेशिक तथा स्थानीय) लाई सोअनुरुप नीति, योजना तथा कार्यक्रम बनाउन प्रेरित गर्नेछ । यसअघि परियोजना कार्यान्वयनका विषयमा चार साझेदार संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका प्रतिनिधिहरुबीच राजधानीमा गत मंसिर ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया