Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधज्वालामाई मन्दिरको नयाँ कार्यसमिति चयन, समितिको अध्यक्षमा मगर विजयी

ज्वालामाई मन्दिरको नयाँ कार्यसमिति चयन, समितिको अध्यक्षमा मगर विजयी


सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाकै प्रसिद्ध धार्मिक स्थल सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानी लोदिङस्थित ज्वालामाई देवी मन्दिरको नयाँ व्यवस्थापन समितिले पहिलोपटक पूर्णता पाएको छ । बुधबार साँझ सम्पन्न निर्वाचनबाट टेक बहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन भएको नवनिर्वाचित अध्यक्ष मगरले जानकारी दिए । समितिको उपाध्यक्षमा टिका माया मगर, सचिवमा श्याम पुलामी मगर, सहसचिवमा ङिमा दोर्जी तामाङ र कोषध्यक्षमा मिलन पुलामी मगर चयन भएका छन् ।

सहमतिको प्रयास विफल भएपछि भएको निर्वाचनमा टेक बहादुर मगर ४२ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी भीम नारायण राजभण्डारीले १७ मत प्राप्त गरेको निर्वाचनमण्डलका सदस्य ल्हाक्पा गेलु शेर्पाले बताए । उनका अनुसार मतदानमा जम्मा ६० मत खसेकोमा १ मत बदर भएको थियो । सोलु दूधकुण्ड नगरपालिका ३ मा अवस्थित उक्त मन्दिर करिब एक वर्षअघि मात्रै संस्थामा दर्ता भई विधिगत रुपमा भीम नारायण राजभण्डारीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । तर तदर्थ समितिले ६ महिनाभित्र नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए पनि एक वर्षभन्दा बढी समय बितेपछि मात्रै नयाँ कार्यसमिति चयन
भएको हो ।

नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । हरेक तीन वर्षमा नयाँ कार्यसमिति चयन हुने विधानमा नै उल्लेख गरिएको छ । नयाँ समितिले मन्दिरको भौतिक विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष मगरले बताए । समितिमा सबै नयाँ अनुहार चयन भएकाले वार्षिक तथा अर्धवार्षिक रुपमा विगतमा मन्दिरको आयव्यय सार्वजनिक गर्नेदेखि भेटीको हिसाबकिताब चुस्तदुरुस्त गर्नेमा आफूहरुको ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

यसअघि मन्दिरमा भक्तजनहरुबाट के कति भेटी संकलन भयो र उक्त रकम कहाँ कसरी खर्च भएको छ भन्नेबारे समितिले भक्तजनहरुमाझ सार्वजनिक गर्न नसकेको आरोप लाग्दै आएको थियो । मन्दिर व्यवस्थापन समितिले नेतृत्व पाएसँगै मन्दिरमा पारदर्शिता कायम रहने स्थानीयको विश्वास छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया