Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधउजुरी लिनै मान्दैन प्रहरी !

उजुरी लिनै मान्दैन प्रहरी !


काठमाडौं, पुस २०
नेक्टर सहकारीमा कार्यरत समिर आले मगर गत २०७१ साल साउन ९ गतेदेखि सम्पर्कविहीन छन् । उनकी आमा श्रीमाया आलेले छारो खोजिदिन भन्दै प्रहरीमा पटक–पटक उजुरी दिइन् तर प्रहरीले उनको उजुरीको कुनै सुनुवाइ गरेको छैन । ‘अफिस जान्छु भनेर मनमैजु हिलेटोल घरबाट हिँडेका समिर अफिस नगएको भन्दै सहकारीमा नै कार्यरत कर्मचारी मनोज आले मगर घरमा खोज्न आए, त्यसपछि छोरोको खोजखबर सुरु गर्न थाले’, समिरकी आमा श्रीमायाले भनिन्, ‘खोजखबर गर्दै जाँदा कतै टुंगो नलागेपछि महानगरीय प्रहरी वृत्त बालाजुमा मैले र सहकारी अध्यक्ष एक बहादुर आलेले मानिस हराएको खोजतलास निवेदन दियौँ ।’ अनुसन्धानको क्रममा प्रहरीले समिरको केटी साथी संगीता खड्कालाई खोजी गरी सोधपुछ ग-यो । संगीताले सहकारीको रकम उठाउन गएको बयान दिइन् ।

श्रीमाया आलेका अनुसार संगीताले चितवनको मुग्लिङ बजारको एक गेष्ट हाउसमा पुगी समिरलाई आफूले ३५ हजार रुपैयाँ र नयाँ मोबाइल दिएर अफिसको काम गर्न पोखरा पठाएको र पाँच दिनपछि आउाछु भनेको बयान दिइन् । ‘पाँच दिनपछि आउँछ भनेपछि प्रहरीले २४ घण्टा हिरासतमा राखेको संगीतालाई विना कागज त्यतिकै छाडिदियो’, श्रीमायाले भन्नि, ‘पाँच दिनपछि पनि छोरोको कुनै पत्तो नभएपछि बालाजुकी तत्कालीन डीएसपी गंगा पन्तलाई आफ्नो समस्याको बेलीविस्तार लगाए तर पन्तलाई त्यहाँकै हवलदार गोपाल चौलागाईंले समिरले संगीता र सहकारीको पैसा खाएर भागेको भनेर प्रतिवेदन बुझाइदियो ।’

समिर हराएको भनेर खोजीकार्य गरिरहेको नै बेलामा नेक्टर सहकारीको अध्यक्ष एक बहादुर आलेले अर्को छुट्टै संस्थाको रकम हिनामिना गरेर भागेको आरोप लगाई हनुमान ढोकामा निवेदन पेस गरिदिए । एक बहादुर आलेले सहकारीको ४४ लाख २४ हजार पाँच सय २१ रुपैयाँ ५३ पैसा हिनामिना गरेर भागेको हनुमान ढोकामा उजुरी दिएपछि प्रहरीले श्रीमायाको कुरा सुन्न छाड्यो । श्रीमायाका अनुसार समिर हराउनुभन्दा केही महिनाअगाडि उनले सहकारीबाट राजीनामा दिएका थिए । समिरले राजीनामा दिएपछि सहकारीका अध्यक्ष एक बहादुर आले आफैँ आएर उनको भतिजो मनोज आलेलाई काम सिकाइदेऊ भनेर समिरलाई फेरि बोलाएर काममा लगेका थिए । समिरलाई संगीताले पनि फोन गरेर तनाव दिने गरेको श्रीमायाले बताइन् ।

श्रीमायाका अनुसार संगीताले समिरबाट सापटी भन्दै पटक पटक पैसा लाने गरेको पैसा फिर्ता मागेपछि उनीहरुबीच खटपट भएको थियो । सोही बीचमा समिर हराए । समिर हराएपछि श्रीमाया सधैँजसो प्रहरीचौकी धाइरहिन् । प्रहरीले संगीताले समिरलाई दिएको भनेको मोबाइल नम्बरबाट वीरगञ्जका मुन्ना शाह र मनोज शाहको मोबाइलमा सम्पर्क भएको पत्ता लगायो । प्रहरीले वीरगञ्जमा उनीहरुसँग आवश्यक सोधपुछ गर्न टोली समेत खटाएको श्रीमायाले बताइन् । वीरगञ्ज गएको प्रहरीले मुन्ना र मनोजलाई सोधपुछ गर्दा उक्त नम्बरबाट आफूहरुलाई प्रकाश शाहले फोन गरेको र उनी हाल भारत गएको बयान दिएका थिए ।

संस्थाका संस्थाका अध्यक्ष एक बहादुर आलेले श्रीमायालाई घर धितो राखेर कागज गरिदेऊ नत्र नराम्रो हुने भन्दै धम्क्याउने गरेको बताइन् । छोरो खोजिदेऊ, त्यसपछि घर बेचेर भए पनि ऋण तिर्छु भन्दा पहिला घर धितो राखेको कागज गर्नु अनिमात्र समिरको खोजखबर गरौँला भन्ने गरेको श्रीमायाको भनाइ छ । प्रहरी हवलदार गोपाल चौलागाईं, संगीता र सहकारीका अध्यक्ष एक बहादुर मिलेर आफूलाई पीडामाथि थप पीडा दिएको श्रीमाया बताउँछिन् ।

हवलदार चौलागाईंले हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको धाक लगाउँदै समिरले पैसा खाएर भागेको टिप्पणी बनाएको श्रीमायाको आरोप छ । श्रीमायाले बालाजु प्रहरीले सुनुवाइ नगरेपछि छोराको खोजी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालय, महानगरीय अपराध महाशाखा, राष्ट्रिय मानवअधिकार आयोग सबैतिर खोजतलासको निवेदन दिइन् तर पनि उनको छोरो भेटिएको छैन । पहिला आफूसँगै गएर संयुक्त निवेदन दिएका सहकारी अध्यक्ष एक बहादुरले फेरि ४४ लाख रकम हिनामिना गरेको भनेर अर्को निवेदन दिएपछि थप अन्योल सिर्जना भएको श्रीमायाले बताइन् । सहकारीको रकम संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष मिलेर हिनामिना गरी दोष आफ्नो छोरालाई लगाएको श्रीमायाको आरोप छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया