Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबसपार्क सञ्चालन नहुँदा पार्किङ समस्या

बसपार्क सञ्चालन नहुँदा पार्किङ समस्या


कैलाली ।
कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ । संघीय सहकारी आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो ।

बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक सवारीसाधन पार्किङका लागि समस्या हुँदै आएको भए पनि नगरपालिकाको ढिलासुस्तीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । आठ करोड २८ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको बसपार्क सधैँ खाली देखिन्छ भने बाहिर सडकका छेउछाउमा सधैँ सवारीसाधनको चाप देखिने गरेको छ । दैनिक एक सयभन्दा बढी यात्रुवाहक सवारी साधनहरू टीकापुर आउने जाने गर्दछन् । ती सबै सवारीको पार्किङस्थल सडकछेउ नै हो ।

रिभर साइड यातायात प्रालिमा काम गर्दै आएका गोकर्ण धमलाले बसपार्कको बोलपत्र भई कार्यान्वयनमा नआउँदा पार्किङको धेरै ठूलो समस्या रहेको बताउँदै दुर्घटनाको जोखिम पनि बढेको बताए । सडकमा सवारी साधन पार्किङ गर्दा पार्किङ गरिएका सवारीमा गाडीहरू ठोक्किएर कैयौँ दुर्घटनाहरू भएको उनले बताए । सुदूरपश्चिम यातायात प्रालि टीकापुर काउन्टरमा कार्यरत भरत हमालले बसपार्क नभएका कारण यात्रुकसमेत अलमलमा पर्ने गरेको उनको भनाइ छ । ‘बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था छैन । सवारी चालकहरूले कताकता लिएर सवारी साधन लिएर पार्किङ गर्नुपर्ने अवस्था छ’, हमालले भने– ‘यसले यात्रुहरू पनि अलमलमा छन्, कहाँ गएर बस चढ्ने भन्नेमा ।’

टीकापुर नरगपालिकालाई बसपार्क निर्माणको जिम्मा पाएको राजेन्द्र रोयल जेभीले बसपार्क निर्माण सम्पन्न गरी गत भदौ ३ गते नै हस्तान्तरण गरेको थियो । नगरपालिकाले बसपार्कको चाभी ग्रहण गरे पनि बसपार्कमा सम्भावित जोखिमका कारण निर्माण कम्पनीले अझैसम्म आफ्नो एकजना कर्मचारीलाई बसपार्कमै खटाएको छ । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बसपार्कको बोलपत्र प्रक्रिया सुरु भएको बताउँदै अबको केही दिनमा बसपार्क सञ्चालनमा आउने जानकारी दिए ।

बसपार्कसँग जोडिएको छ लेनको सडक निर्माणको काम चलिरहेको अवस्थामा बसहरू पार्किङमा झनै समस्या आएको चालक विकास चौधरी बताउँछन् । अत्याधुनिक तवरले निर्माण गरिएको भनिएको बसपार्कको उचित संरक्षण हुन नसक्दा ठाउँठाउँमा टायलहरू भत्किन थालेका छन् । नगरपालिकाले दुई वर्ष पहिले निर्माण गरेको सिटी बसपार्क पनि सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले सिटी बसपार्क निर्माणका लागि २० लाख रूपैयाँ खर्च गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया