Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रियामा स्थानीय तह

जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रियामा स्थानीय तह


भजनी ।
कैलालीका स्थानीय तहले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया सुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगले सम्झौता गरेपछि यहाँका स्थानीय तहले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया सुरु गरेका हुन् ।

नगर अधिवेशनका कारण भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरूको तथ्यांक संकलन गर्ने कार्य पूरा हुन नसकेको टीकापुर नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले नगरसभाको तयारीका लागि समय लागेका कारण त्यसतर्फ ध्यान दिन नसकिएको बताउँदै अबको केही दिनमै सबै प्रक्रिया पूरा गरी भूमिहीन, सुकुमबासी र अव्यवस्थित परिवारको तथ्यांक संकलन गरिने बताए ।

उनले आयोगसँग सम्झौता भएअनुसार वास्तविक भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने बताउँदै तथ्यांक संकलनमा धेरै समस्या आउन सक्ने देखिएको बताए । ‘आयोगको कानूनमा कस्तो व्यक्तिले जग्गाधनी प्रमाणपुर्जा पाउने भन्ने कुरा स्पष्ट छ’, नगरप्रमुख रावलले भने, ‘वास्तविक भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई हामीले जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने हो ।

हाम्रो लक्ष्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नेछ ।’ भजनी नगरपालिकाले पनि आयोगसँग गरेको सम्झौताअनुसार भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासको तथ्यांक संकलनका लागि प्रक्रिया सुरु भएको नगरप्रमुख शेरबहादुर चौधरीले बताए । ‘हामीले नगरस्तरीय समिति गठन गरिसकेका छौँ र वडास्तरको समिति गठनको काम पनि भइरहेको छ’, उनले भने, ‘कर्मचारी भर्नाका लागि केही दिनमा सूचना जारी गर्छौँ । नगरक्षेत्रभित्र छ हजारदेखि १५ हजारको बीचमा भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गर्ने परिवारहरू रहेको अनुमान गरेका छौँ ।’

जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले कार्यपालिकाको बैठकबाट पहिलो चरणको छलफल भई निर्णय गरेको बताउँदै पछिल्लो समयको राजनीतिक अस्थिरताले आफूहरूलाई अन्यौलमा पारेको बताए । ‘आयोगसँग सम्झौता भएको छ । तर काम हुने र नहुनेमा अहिलेको परिस्थितिले अन्यौलता थपेको छ’, उनले भने, ‘यदि काम हुन नसकेको अवस्थामा गाउँपालिकालाई ठूलो व्ययभार पर्न सक्ने अवस्था छ । तर पनि वडा समिति गठनका लागि प्रक्रिया शुरु गरेका छौँ ।’

लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईंले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि कर्मचारी छनोटको काम भइरहेको बताए । उनले नगरस्तरीय समिति गठन गरी काम अगाडि बढाइएको उल्लेख गर्दै चालू आवभित्र सबैलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने गरी काम सुरु गरिएको बताए ।

‘तथ्यांक संकलनमा केही समस्या आउनसक्ने सम्भावना देखिएको छ । यदि काम गर्दै जाँदा कुनै समस्या नआएको अवस्थामा चालू आवभित्रै सबै भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्छौँ’, नगरप्रमुख बजगाईँले भने, ‘अधिकांश काम स्थानीय तहले नै गर्नुपर्नेछ । त्यसैले आफ्नो काम समयमै सक्नु हाम्रो पनि दायित्व हो । तर आयोगले पनि केही काम गर्नुपर्ने हुँदा त्यसले केही ढिलाइ गर्छ कि भन्ने मात्र हो ।’

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनका लागि कर्मचारी छनोट भई अभिमुखीकरणको काम भइरहेको बताए । उनले तथ्यांक संकलनका लागि २७ जना कर्मचारी छनोट गरिएको उल्लेख गर्दै ३५ दिनभित्र सबै तथ्यांक संकलन गरिसक्ने बताए । ‘हामीले काम तीव्र गतिमा अगाडि बढाएका छौँ ।

यो वर्षभित्र जग्गाधनी प्रमाणपुर्जा वितरण गर्छौं’, नगरप्रमुख चौधरीले भने, ‘नगरभित्र करिब छ हजारको हाराहारीमा भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।’ गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले कर्मचारी छनोट भई भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनको काम सुरु गरिएको बताए । उनले १९ जना कर्मचारी तथ्यांक संकलनमा लागेको बताउँदै वास्तविक सुकुमबासीको पहिचान गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया