Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशबाट फर्केका युवा वेतबाँसको उद्योगमा आकर्षित

विदेशबाट फर्केका युवा वेतबाँसको उद्योगमा आकर्षित


कञ्चनपुर ।
दुई वर्षअघि दुबईबाट फर्किएका भीमदत्त नगरपालिका १८ बागवाणी टोलका २९ वर्षीय सागर क्षेत्री अहिले वेत तथा बाँस उद्योगमा व्यस्त रहेका छन् । उनले अम्रिसो तथा निगालोबाट विभिन्न आकर्षक एवं उपयोगी सामग्री उत्पादन र बिक्रीबाटै लोभलाग्दो आम्दानी गरिरहेका छन् । उनले वेतबाँस लघु उद्योगमार्फत व्यावसायिक सफलता समेत प्राप्त गरिरहेका छन् ।

२०७५ सालमा ५२ लाख रूपैयाँको लगानी लगाएर उनले विन्ध्यावासनी वेत तथा बाँस लघु उद्योगको स्थापन गरेका थिए । दुई वर्षको अवधिमा उनले लागत कटाएर ६२ लाखबराबर बचत गरेका छन् । उक्त मुनाफा रकमलाई समेत क्षेत्रीले व्यवसायको विस्तार तथा व्यावसायिक सम्भावनामा लगाएका छन् । लघु उद्योगसँगै विन्ध्या बट्टाई कृषि फर्म पनि सञ्चालनमा ल्याएर तीन सय ५० बट्टाई चरा तथा अन्य लोकल कुखुरा पालन व्यवसायलाई पनि अगाडि बढाएको उनले बताए । साथै उनले व्यवसायलाई विस्तार गरी ब्राण्डकै रूपमा स्थापना गर्ने सोच लिएका छन् । उनले विन्ध्या बट्टाई फर्ममा १२ लाखको लगानी लगाएका छन् । साथै ह्याचरी समेत ल्याएर यसै वर्षभित्र सात हजार चल्ला उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए ।

उनले भीमदत्त नगरपालिका–१८ जानकी टोलमा अर्काको जमीन भाँडामा लिएर उक्त व्यवसाय सुरु गरेका हुन् । साथै उनले उक्त उद्योगमा दैनिक रूपमा ३० जनालाई रोजगारी समेत दिएका छन् । कामदारहरूले कामअनुसार मासिक १५ देखि ३० हजारसम्म कमाउने गरेका छन् । उक्त लघु उद्योगमा व्यावसायिक सीप विकास तथा तालिम केन्द्र र उद्योग वाणिज्य संघका सहकार्यमा वेतबाँसाका सामग्री निर्माणसम्बन्धी ४५ दिने तालिम समेत सञ्चालन गरिएको छ । एकल महिला तथा गरिबहरूलाई प्राथमिकतामा राखेर सीप दिइरहेका छन् ।

स्वदेशी सामग्रीको प्रयोग गरौँ, स्वदेशमै रोजगारीको सिर्जना गरौँ भन्ने उद्देश्यले उद्योग स्थापना गरेको र त्यसैअनुसार धेरैलाई सीप सिकाइएको तथा आंशिक समय भए पनि ३० जनाभन्दा बढीले रोजगारी पाएको युवा उद्यमी क्षेत्रीले बताए । लकडाउनमा अन्य वेत तथा बाँसका सामग्रीको व्यापारमा कमी आए पनि फूलकुचो र सिन्कीकुचोको माग धान्नै गाह्रो भएको युवा व्यवसायी सागरका बुबा लालबहादुर क्षेत्रीले बताए । उनले राज्यले आफ्नो उद्यमलाई सम्मान गरी उत्पादीत वस्तु तथा सामग्रीको बजार व्यवस्थापन गर्न सहयोग मात्रै गरिदिए आफूहरूमा हौसला पाइने बताए ।

देशमा गर्न चाहनेका लागि धेरै कुरा रहेको र सबैले सम्भावनाको खोजीमा जुट्नुपर्ने सागरको सुझाव छ । स्वदेशमै स्वरोजगारसहित अरुलाई समेत काम दिन पाउँदा आत्मसन्तोष मिल्ने गरेको उनको अनुभव छ । उनले दुई/ढाई लाख रूपैयाँ ऋण लगाएर विदेश जानुभन्दा यतै सीप सिएर सानै उद्योग गरेर पनि राम्रो आर्थिक लाभ प्राप्त गर्न सकिने वताए ।

उक्त उद्योगका लागि आवश्यक पर्ने वेत तथा बाँस, अम्रिसोलगायतका कच्चापदार्थ जिल्लामा कमी हुँदा पूर्वका जिल्लाबाट मगाउनुुपर्ने बाध्यता रहेको छ । सुदूरपश्चिममा प्रर्याप्त कृषि सम्भावना रहे पनि कृषकले काम गर्ने वातावरण राज्यले निर्माण गरिदिनुपर्नेमा सागरको आग्रह छ । विन्ध्यवासनी बाँस तथा वेत उद्योगबाट विभिन्न खालका घर सजावटदेखि कार्यालयमा समेत उपयोगी हुने विभिन्न खाले टेबल, गार्डिङग टेबल, कुर्ची, फूल, डाली, सिँडीलगायतका आकर्षक र उपयोगी सामग्रीहरू निर्माण गरिन्छ । ती सामग्रीहरूको माग अहिले सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत हुन थालेको छ ।

सीपयुक्त कामदार नेपालमा नमिल्दा भारतबाट मगाउनुपर्ने अवस्था रहेको उनले बताए । साथै उनले उद्योग सञ्चालनको लागि भीमदत्त नगरपालिकालगायतका राज्यका अन्य निकायमा पहल गर्दा समेत कुनै सहायता पाउँन नसकिएको गुनासो गरे । सहयोग पाए उद्योगमा अझै ३० जना युवालाई रोजगारी दिने क्षमता रहेको युवा व्यवसायी क्षेत्रीको भनाइ छ । उक्त लघु उद्योगको अवधारणा नौलो रूपमा आएको देखिन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया