Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पपीडितलाई तीन महिनादेखि दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण हुन सकेन

भूकम्पपीडितलाई तीन महिनादेखि दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण हुन सकेन


सोलुखुम्बु ।
सोलुखुम्बुका भूकम्पपीडितहरूलाई तीन महिनादेखि दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण हुन सकेको छैन । निजी आवास पुनर्निर्माण सम्पन्न गरेका र पुनर्निर्माण गरिरहेका लाभग्राहीले विगत तीन महिनादेखि सरकारले उपलब्ध गराउँदै आएको अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् ।

लाभग्राहीहरू कसैले पनि असोज ३० यता अनुदानबापतको रकम लिन सकेका छैनन् । निजी आवास पुनर्निर्माण भइसकेपछि तेस्रो किस्ताका लागि माग गरेका एक सय ८२ लाभग्राही र घर निर्माण गरिरहेका ७२ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम नपाएका हुन् । पहिलो किस्ताबापतको अनुदान रकम निकासा भइरहेको भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुको तथ्याङ्कअनुसार असोज ३० गते यता माग गरेका लाभग्राहीले दोसो र तेस्रो किस्ता पाउन नसकेका हुन् ।

आवश्यक प्रक्रिया पूरा गरी अनुदानबापतको रकम निकासाका लागि माग गरेको भएपनि उनीहरूलाई अनुदान रकम दिइएको छैन । अनुदानका लागि सदरमुकाम धाउने लाभग्राहीहरू पटक–पटक रित्तो हात फर्किन बाध्य बन्दै आएका छन् । रकम निकासा हुनका लागि आवश्यक बजेट नभएकाले अनुदान रकम वितरणका लागि समस्या भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुका इन्जिनियर बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

थप अनुदानका लागि ७४ करोड रूपैँया माग गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख विमलप्रसाद बरालले बताए । रकम प्राप्त भएपछि वितरण गरिने आयोजना कार्यान्वयन इकाइ सोलुखुम्बुले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका अनुसार अहिले जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुको खातामा सात करोड २५ लाख रूपैयाँ रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने अनुदान व्यवस्थापनका लागि अर्थमन्त्रालयलाई पत्राचार गरिएको बताए । मन्त्रालयबाट रकम प्राप्त भएपछि दोस्रो र तेस्रो किस्ता वितरण गरिने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया