Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकरिडोरले फेरेको मुहार

करिडोरले फेरेको मुहार


बलेवा ।
दुई वर्ष पहिलासम्म बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ छिस्ती सडक सञ्जालविहीन थियो । जिल्ला सदरमुकाम बागलुङ बजारबाट दक्षिण जोडिएको सडक कुश्मीशेरा बजार हुँदै बरेङतर्फ लाग्छ । जिल्लाको दक्षिण क्षेत्रको समेत दक्षिणमा पर्ने छिस्तीमा कुनै सडक सञ्जाल पुगेको थिएन । विकासका पूर्वाधारमा प्रमुख मानिने कच्ची सडकसमेत नभएकाले यहाँका सर्वसाधारण समस्यामा थिए ।

छिस्तीका प्रकाश पौडेल अहिले बुलेरो पिकअप भ्यान चढेर घरमै पुग्छन् । सडक सञ्जाल नभएका कारण यातायातका साधन प्रयोग गर्न उनलाई यसअघि पर्वतको फलेवास वा जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजार पुग्नुपर्ने बाध्यता थियो ।

विसं २०७५ मा कालिगण्डकी करिडोरको बागलुङ खण्डमा सामान्य मार्ग खोल्ने काम सकिएपछि छिस्तीले पहिलोपटक सडक देखेको हो । साविकका गाउँ विकास समिति हुने बेला कृषि सडक नाम दिइएको सडक छिमेकी गाविस जैदीमा पुगेर रोकिएको थियो । अहिले जैदी जैमिनी नगरपालिकाको वडा नं ७ कायम भएको छ । स्थानीय सडक नाम दिइएको सडकसमेत जैदीकै व्यार्थलामा पुगेको थियो ।

करिडोर पुगेपछि छिस्तीमा पहिलो पटक सडकको पहुँच मात्रै विस्तार भएन, यहाँका बस्तीबस्तीमा सडक पु-याउने लहर चल्यो । दुई वर्षका अवधिमा वडाका सबै बस्ती सडक सञ्जालसँग जोडिएको वडाअध्यक्ष विजय अधिकारीले बताए । साविकका गाउँ विकास समिति हुने बेला छिस्ती बागलुङका ५९ गाविसमध्ये तेस्रो ठूलो गाविस हो ।

संघीय संरचना लागू भएपछि पनि नगरपालिकाको एउटा मात्रै वडा कायम भएको छ । करिडोरले सदरमुकाम र पालिका मुकामसँग जोडिएपछि अहिले छिस्तीका गाउँमा पुग्ने दर्जनौँ सडक बनेका छन् । ‘ठाउँ–ठाउँबाट कच्ची ट्र्याक खोलेर करिडोरसँग सडक जोडिएको छ, अहिले सडकको समस्या रहेन’, स्थानीयवासी प्रकाशले भने, ‘हामीलाई सडक देख्न राष्ट्रिय गौरवकै आयोजना आउनुप-यो ।’

करिडोरको सामान्य मार्ग खुलेपछि छिस्तीमा मात्रै नभई जैमिनीका वडा नं ५, ६ ७ र ८ मा पुग्ने दर्जनभन्दा बढी सडक करिडोरसँग जोडिएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले करिडोरसँग नगरपालिकाको ठूलो अपेक्षा रहेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।

करिडोरसँग जोडेर गाउँका सडकको विकास गरिइरहेको उनले बताए । अहिले नेपाली सेनाको निर्माण कार्यदलले करिडोर स्तरोन्नतिको काम गरिरहेको छ । जैमिनी नगरपालिकाले बाह्रै महिना चल्ने गरी साना वडामा एक र ठूला वडामा दुई सडकलाई दिगो सडक मानेको छ । सोहीअनुसार स्तरोन्नति भइरहेको करिडोरमा जोडेर नगरपालिकाले पाँच दिगो सडक निर्माण गरेको छ ।

‘करिडोर नभएको भए मूल सडकसमेत हाम्रो जिम्मेवारी हुन्थ्यो’, नगरप्रमुख पौडेल भन्छन्, ‘मूल सडक भएकाले दिगो सडकका लागि मात्रै हाम्रो ध्यान केन्द्रित भएको छ ।’ वर्षा याममा पछिल्लो पटक छिस्ती पुगेको कृषि र स्थानीय सडक बिग्रिँदासमेत करिडोरले भर नकाटेको स्थानीयवासीको भनाइ छ ।

करिडोर बनेपछि जैमिनीले पालिका मुकामलाई जिल्ला सदरमुकामसँग जोड्ने मूल सडकसमेत यसैलाई मानेको छ । संघीय सरकारसँग साझेदारी गरेर कालीगण्डकी करिडोरको जैमिनी घाटदेखि पालिका मुकाम कुश्मीशेरा बजारसम्म नयाँ सडक बनाइएको छ । समपूरक अनुदानमा साझेदारी गरेर नगरले सो सडक कालोपत्रेको कामसमेत थालेको नगर उपप्रमुख लीला रानाले बताइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया