Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’


चितवन ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायी आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन व्यवसायीले विभिन्न क्रियाकलाप थलेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्बिर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिइएको छ । राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको बताइएको छ । सो सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैलाई ध्यान केन्द्रित गर्न थालेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकमध्ये युवायुवतीदेखि वृद्धवृद्धासम्म सेल्फी प्वाइन्टमा गएर फोटो खिच्ने गरेका छन् । सेल्फी प्वाइन्टमा फोटो खिच्दा पछाडि आकर्षकरूपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ । सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्बिर खिचाउने गरेका छन् । कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

मङ्सिरको पहिलो साता राखिएको सो प्वाइन्टमा अहिले सौराहाको चिनारीको रूपमा विकास भएको उनले बताए । उनका अनुसार अहिले दैनिक तीन सय हाराहारी पर्यटकले सो सेल्फी प्वाइन्टमा फोटो खिच्नेगरेका छन् । उनले भने, ‘सेल्फी प्वाइन्टका कारण सौराहालाई विश्वमाझ चिनाउन सकेका छौँ ।’ थोरै लगानीमा स्थापना गरिएको यस प्वाइन्टले पर्यटकको आकर्षण बढाएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल एशोसिएशन सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले यहाँ आएका पर्यटकलाई एकपटक त्यहाँ जाऊँजाऊँ भन्ने बनाएको बताए ।

स्थानीय होमनाथ सापकोटाले पर्यटन विकासका लागि यसले मदत पुगेको बताए । यो पर्यटन क्षेत्रका लागि नयाँ आयाम भएको उनको भनाइ छ । कोरोना कहरबाट थलिएको यस व्यवसाय अहिले केही तङ्ग्रिन थालेको व्यवसायीले बताएका छन् । अहिले सौराहा बस्ने गरी आउने पर्यटकको संख्या दैनिक छ सयको हाराहारी पुगेको पूर्वअध्यक्ष घिमिरेको भनाइ छ । घुम्नका लागि मात्रै आउने पर्यटक एक हजार पाँच सयभन्दा बढी हुनेगरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया