Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसामुदायिक वनभित्र घर निर्माण

सामुदायिक वनभित्र घर निर्माण


धनगढी, पुस २२
गोदावरी नगरपालिका वडा नं.२ दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रभित्र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले घर निर्माण गरेका छन् । गैरसरकारी संस्थाहरूले आफ्नो मनोमानी सामुदायिक बनको अनुमति नै नलिई वन क्षेत्रमा घर निर्माण गरेका हुन् ।

कुल एक सय ७४ हेक्टर क्षेत्रफल रहेको महिला सामुदायिक वन अतिक्रमणको चपेटामा परेर वनको क्षेत्रफलसमेत घट्दै आएको छ । सामुदायिक वनभित्र अत्तरीया उद्योग वाणिज्य संघ, दलित एकता समाज, नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखालगायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले वन अतिक्रमण गरेको छ । सामुदायिक वनमा सरकारी तथा गैरसरकारी संस्थाहरूसँगै व्यक्तिहरूले समेत आफ्नो निजी स्वार्थका लागि सामुदायिक वन अतिक्रमण गर्दै आएका छन् ।

अतिक्रमणकै कारण दुर्गालक्ष्मी महिला सामुदायिक वनको नाम निसाना नै हराउँन्छ कि भन्ने विषयमा अन्य सामुदायिक वनका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । पूर्व–पश्चिम राजमार्गको छेउमा पर्ने सामुदायिक वन प्रकृतिकरूपले हराभरा देखिन्छ । सामुदायिक वन अतिक्रमणको चपेटामा परेपछि सोही सामुदायिक वनकी अध्यक्ष दुर्गा खडायतले गोदावरी नगरपालिका र इलाका वन कार्यालयसँग हारगुहार गरेको बताइन् । तर, नगरपालिका र इकालाका वन कार्यालयले कुनै पनि चासो नराखेको उनको भनाइ छ । म महिला भएकै कारण बेवास्ता गरी घर निर्माण गर्न लागेको र राजनितिक आडका कारण सामुदायिक वनभित्र घर निर्माण गर्न लागिएको अध्यक्ष खडायतको भनाइ रहेको छ ।

वन परिसरभित्र रहेको लामीताल नजिकै अत्तरीया उद्योग वाणिज्य संघले वर्षेनी महोत्सव सञ्चाल गर्ने गरेका छन् । महोत्सव सञ्चालन गरे पनि सामुदायिक वनलाई भएको आम्दानीमा केही प्रतिशत रकम बुझाउने गरेको छैन् । महोत्सवले सामुदायिक वनभित्रका हरिया सालका रुखका बुटाहरूलगायत ताल परिसरमा दुर्गन्ध फैलाउने समस्या आउने गरेको छ । त्यसका लागि पनि रकम छुट्याउन जरुरी रहेको छ । वडा नं.२ का वडा अध्यक्षलाई समेत अतिक्रमणको बारेमा समस्या राख्दा यस विषयमा बेवास्ता गरेको अत्तरीयाका वनखेतवासीले बताए ।

वडा अध्यक्षले बेवास्ता गर्दा स्थानीयहरू आक्रोशित बनेका छन् । यस विषयमा वडा अध्यक्ष कृष्णराज जोशीले समेत बोल्न मानेनन् । सबडिभिजन कार्यालय अत्तरीयाका अधिकृत रामनारायण यादवले बारम्बार अतिक्रमण हटाउने प्रयास गरे पनि राजनीतिक दबाबका कारण अतिक्रमण हटाउन नसकेको दाबी गरे । वन अक्रिमण के–कति भएको छ भन्ने विषयमा समेत इलाका वनसँग एकिन तथ्याङ्क नभएको स्वीकार गरे । इलाका वन कार्यालय अत्तरियाले अतिक्रमण हटाउन निरन्तर प्रयास राख्दै आएको छ ।

सामुदायिक वन नियामवलीमा अतिक्रमण गर्ने विषयमा सामुदायिक दफा नियमअनुसार कारबाही गर्न सक्ने प्रावधान रहेको छ । तर, दुर्गा सामुदायिक वन अतिक्रमण हटाउन सकिरहेको छैन् । वन अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजनीतिक दल, पत्रकार महासंघलगायतका कार्यादलले हटाउन सक्ने प्रावधान रहेको छ । तर, यस विषयमा प्रशासन समेत मौन रहेको छ ।

जिल्लाको चिसापानीदेखि लिएर अत्तरीयासम्म सरकारी तथा गैरसरकारी संस्थाले सामुदायिक वन अतिक्रमण गरेको डिभिजन कार्यालय धनगढीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेलले बताए । यसका लागि प्रदेश सरकार नै अग्रसर रहन जरुरी रहेको उनको भनाइ छ । सामुदायिक वन चारैतिरबाट अतिक्रमणमा पर्दै गएको छ । यदि सामुदायिक वनभित्रको अतिक्रमण नियन्त्रण नभएमा दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिको नाम निसाना नै हराउन सक्ने सम्भावना देखिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया