Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्थिरता कायम गर्न निजी क्षेत्रको आग्रह

स्थिरता कायम गर्न निजी क्षेत्रको आग्रह


काठमाडौं ।
बन्द, हडताललगायतका राजनीतिक गतिविधि रोकी स्थिरता कायम गर्न निजी क्षेत्रहरुले राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक पक्षले बिहीबार आमहडताल गर्ने घोषणा गरेपछि नेपालका तीन ठूला निजी क्षेत्रहरुले दलहरुलाई आमहडताल तथा बन्द सधैँका लागि बन्द गर्न आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त विज्ञप्ति जारी गरी कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द, हडतालजस्ता गतिविधिले थप जोखिममा पार्ने बताएका छन् ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकबाट विस्तारै लयमा फर्किनथालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको निजी क्षेत्रको भनाइ छ । विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई बन्द, हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलनलगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने निजी क्षेत्रको भनाइ छ । यस्तो विषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउनेलगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ ।

निजी क्षेत्रले बन्द, हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्फ राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएको छ । साथै नयाँ संविधान निर्माणपश्चात् आर्थिक विकासलाई प्राथमिकतामा राखी बन्द, हडताल, चक्काजामलगायतका गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिबद्धतालाई पनि निजी क्षेत्रले स्मरण गराएको छ ।

निजी क्षेत्रद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको कठिन परिस्थिति, विगतका हाम्रा तीता अनुभव समेतलाई गम्भीररूपमा मनन गरी बन्द हडताललगायतका कार्यक्रमको घोषणा गरिएको हो भने तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स समस्त राजनीतिक दलहरूमा हार्दिक अपिल गर्दछ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया