Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुदूरपश्चिमका पहाडी जिल्लामा वर्षात् र हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षात् र हिमपात


बझाङ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षात्सँगै हिमपात सुरु भएको छ । हिमपात र वर्षात्का कारण बढेको चिसोले यहाँको जनजीवन समेत प्रभावित बनेको छ । गत बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको हो ।

गत वर्ष मंसिरको दोस्रो साताबाटै पानी पर्ने, हिमपात हुने गरे पनि यस वर्ष माघको अन्तिममा आएर हिमपात भएको हो । पहाडी जिल्लाका विभिन्न स्थानहरु बुङगल छविसपाथीभेरा, तल्कोट, साइपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था नरहेको बुङगल नगरपालिका वडा नं २ का जय धामीले बताए । उनले भने, ‘गाउँमा २ फिटभन्दा बढी हिउँ परेको छ । एक घरबाट अर्को घरसम्म जान सकिने अवस्था छैन ।’

दैनिक कामकाजका लागि मानिसहरु घरबाहिर निस्किनसकेका छैनन् । हिमपात र वर्षात्सँगै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको उनको भनाइ छ । विगतका वर्षहरुभन्दा यस वर्ष चिसो अत्यधिक बढेको स्थानीयको भनाइ छ । चिसोको असर बालबालिका र वृद्धवृद्धाहरुमा बढी परेको छ ।

हिमपातका कारण आंशिक रुपमा टेलिफोन, यातयात र विद्युत् सेवा प्रभावित भएको छ । बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रिने सवारीसाधनहरुलाई सकस भएको छ । बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।

भदौदेखिको लामो खडेरीले हैरानी खेपेका किसानलाई भने पानी परेपछि राहत मिलेको छ । वर्षा नभएका कारण अधिकांश क्षेत्रमा हिउँदे बाली राम्ररी उम्रिन पाएका छैनन् भने उम्रेका बाली पनि सुकेर पहेँलो हुनथालेका छन् । ढिलो गरी पानी परे पनि यो वर्ष बालीनालीका लागि पर्याप्त नभएको किसानहरुको भनाइ छ । हिमपात ढिलो भए पनि बाली सप्रिने किसानहरुको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया