Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल र सडक विभागका महानिर्देशकबीच भेट

निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल र सडक विभागका महानिर्देशकबीच भेट


काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार सडक विभागका नवनियुक्त महानिर्देशक अर्जुन थापालाई भेटी व्यवसायीहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्यअभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिसन, मूल्यवृद्धि, कोभिड–१९ को मापदण्ड, कानुन संशोधनलगायतका विषयमा महानिर्देशक थापाको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपाय समेत पेश गरेको छ ।

कोभिड–१९ को असरले बन्दप्रायः रहेको निर्माणकार्यलाई पुनः सञ्चालन गरी आर्थिक कारोबारलाई चलायमान बनाउन निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीको आधारमा धरौटी रकम फिर्ता पाउने व्यवस्था गरिनु अति आवश्यक भएको महासंघले जनाएको छ । साथै म्याद सकिएका ठेक्काहरूको गत असार २९ र माघ ११ को मन्त्रिपरिषद्को निर्णयानुसार म्याद समाप्त भएको मितिदेखि लागू हुने गरी छ महिना म्याद थप भए पनि त्यस अवधिमा लकडाउनका कारण काम गर्न नसकिएकोले सबै प्रकारका निर्माणकार्यहरूको म्याद थप छ महिना थप गर्न महासंघले माग गरेको छ ।

साथै २०७६ जेठ १५ अगाडि सम्झौता भई निर्माणकार्यहरू सम्पन्न भएका र सञ्चालनमा रहेका परियोजनाहरूमा डिजेल खर्चको मूल्यअभिवृद्धि कर फिर्ताको सुविधा नपाएको भन्दै महासंघले उक्त रकम सहज रुपमा पाउने व्यवस्था गर्न आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ वा सोभन्दा अघिसम्मको मूल्यअभिवृद्धि कर तथा आय कर विवरण पेश गर्ने र नगर्ने मूल्यअभिवृद्धि कर तथा आयकरमा दर्ता भएका तर विवरण बुझाएका तथा नबुझाएका जे.भी निर्माण कम्पनी समेतका करदाताले आफूले बुझाउनुपर्ने बक्यौता मूल्यअभिवृद्धि कर, आयकर र विवरण २०७८ चैत मसान्तभित्र बुझाएमा त्यसमा लाग्ने जरिवाना, थप दस्तुर र ब्याज छुट गरी एक पटकको लागि सावाँकर मात्र चुक्ता गरे पुग्ने व्यवस्था गरिनुपर्ने माग महासंघले राखेको छ ।

हाल संसद्मा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँग सम्बन्धित कानुनहरु निर्माणमैत्री हुने गरी संशोधन गरिनुपर्ने महासंघको माग रहेको छ । साथै महासंघले पछिल्लो समय देशका विभिन्न भागमा निर्माणकार्यमा खटिएका निर्माण व्यवसायी र निर्माणकार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट पटक–पटक श्रृंखलाबद्ध आक्रमण तथा आगजनीका घटना भइरहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

त्यस्तै महासंघले सडक विभाग महानिर्देशकको रुपमा थापाको सफल कार्यकालको कामना गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार गेल्जे शेर्पा, उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, उपमहासचिव टंकप्रसाद चौलागाईं, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायत थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया