Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहासंघको सूचना प्रविधि समिति विस्तार

महासंघको सूचना प्रविधि समिति विस्तार


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले महासंघका कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार गरेको छ । समितिका सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धिताल र नेपाल सरकारका पूर्वसहसचिव वीरेन्द्र मिश्र चयन भएका छन् ।

यस्तै समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका दिपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बाल कृष्ण जोशी र नेपाली युवा उद्यमी मञ्चका सुरक्षा अधिकारी रहेका छन् । समितिको सल्लाहकारहरूमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्वउपाध्यक्ष मनोहर भट्टराई, फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत डा. समिर मास्के, वाइज्याक शोलुसनका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक सुरेश मानन्धर र गोल्छा अर्गनाइजेसनका सञ्जय गोल्छा रहेको महासंघले जनाएको छ ।

समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएकोले सोे दस्तावेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्वपूर्ण सुझावको अपेक्षा गरेको बताए । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनसक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव दिए । सोही प्राथमिकताहरूलाई महासंघको भिजन पेपरमा पनि समावेश गरिने अध्यक्ष गोल्छाको भनाइ थियो । समितिले तयार गरेको दस्तावेज तथ्य र अनुसन्धानमा आधारित र कार्यान्वयन गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताउँदै यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले समितिमार्फत मुलुकभित्र सूचना तथा प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पारे । उनले आईसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको तथा सूचना प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको गुनासो समेत गरे ।

कोभिडपश्चात् सूचना प्रविधिको प्रयोग अझ बढ्न गएकाले अर्थतन्त्रसँग जोडिन सक्ने दूरदराजका किसान, आफ्नै पौरखमा रमाइरहेका ससाना उद्यमी व्यवसायीहरू र उनीहरूका उत्पादनलाई सिधै बजारसम्म जोड्ने प्रविधिको प्रयोग बढाउनुपर्ने उनको सुझाव थियो । यसो हुनसके त्यस्तो वर्ग अर्थतन्त्रको मूलप्रवाहमा समाहित हुने उनले बताए । सूचना प्रविधिको विकासकै कारण कोभिड महामारीमा पनि आपूर्तिमा कुनै समस्या नभएको भन्दै उनले घर–घरमा सामान पुग्ने वातावरण बनेको बताए ।

साथै समिति सभापति श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले इ–कमर्सको विस्तारको साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा आईसीटीका सम्भावनाहरूको पहिचान गरी सुझाव तयार गर्ने र आईसीटी विकास एवं विस्तारसम्बन्धी नीति, ऐन, नियम एवं सरकारी निर्णयको पुनरवलोकन गरी गर्नुपर्ने सुधार सम्बन्धमा राय/सुझाव तयार गर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया