Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभारतमा पेट्रोलियम पदार्थ महँगिएपछि नेपालबाट तस्करी

भारतमा पेट्रोलियम पदार्थ महँगिएपछि नेपालबाट तस्करी


बाँके ।
भारतमा पेट्रोलियम पदार्थ महँगिएपछि नेपालबाट भारततिर यसको तस्करी बढेको छ । खुला सीमाना रहेकाले पेट्रोलियम पदार्थको तस्करी हुने बढेको हो । नेपाल–भारत सीमाको बाँके खण्डको ६५ किलोमिटर खुला सीमाना रहेको छ । जसले गर्दा खुला सीमानामा तस्कर सक्रिय भएका छन् । सीमामा भारतबाट तस्करी गरेर सामान ल्याउनेहरू अहिले नेपालबाट पेट्रोलियम पदार्थ लैजान थालेका छन् ।

भारतको उत्तर प्रदेशमा डिजेललाई ८०.९६ भारु र पेट्रोललाई ८८.६३ भारु पर्छ । नेपालगन्जमा डिजलको प्रतिलिटर मूल्य नेपाली रूपैयाँ ९५.५०, पेट्रोलको नेपाली रूपैयाँ ११२.५० रहेको छ । यसले नेपाल र भारतको पेट्रोलियम पदार्थको मूल्यमा ठूलो अन्तर देखिन्छ । करको दरका कारण अहिले नेपाल र भारतमा पेट्रोलियम पदार्थको मूल्यमा अन्तर छ । जसले गर्दा पनि तस्करहरू पेट्रोलियम पदार्थको तस्करीमा सक्रिय भएका हुन् ।

भारतबाट भन्सार भएर आउने भारतीय सवारी साधनले यहाँ पेट्रोलियम पदार्थ ट्यांकी भरेर लैजाने गरेका छन् । भारतीय ट्रकहरूले यसरी नेपालबाट लगेको पेट्रोलियम पदार्थ भारत लगेर बिक्री गर्ने गरेको पाइएको छ । भारतबाटै बिक्री गरिएको इन्धन नेपालले भारतमा भन्दा सस्तोमा बिक्री गर्दा सीमा क्षेत्रमा दिनहुँ तस्करी बढेको हो ।

तस्करीमा दुई पांग्रेका अलावा साना गाडी धेरै प्रयोग भइरहेको छन् । नेपालका पेट्रोल पम्पहरूबाट पानीका बोतल, जार र ग्यालेनमा भरेर समेत पेट्रोलियम पदार्थ भारत तस्करी भइरहेको छ । स्रोतका अनुसार, सवारी साधनहरूले नेपालका पम्पमा पेट्रोल भरेर सिमा पारी खन्याउने गरेका छन् । बोतल, जार र ग्यालेनमा बोक्नेहरूले भारतको खुद्रा पसलहरूमै बेच्न राख्ने गरेका छन् । बिहारको अररियादेखि उत्तर प्रदेशको सुनौली र उत्तराखण्डको चम्पावतसम्म पेट्रोलियम तस्करी मौलाएको छ ।

नेपाल आयल निगम नेपालगन्ज इन्धन डिपोका प्रमुख कमला न्यौपानेले भारत र नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा अन्तर रहे पनि स्थानीय बजारमा माग र आपूर्तिको अवस्था अप्रत्याशित भने बढेको नपाएको बताउँछिन् । ‘मूल्य अन्तरले तस्करीको सम्भावना हुनसक्छ, त्यसैले केन्द्रबाट नै त्यसलाई रोक्नका पहल भैरहेको छ’, उनले भनिन् ।

नेपालबाट अवैधरूपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ थालेको छ । निगमले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको हो । निगमले गत बिहीबार इन्धनको अपचलन रोक्न अपनाउनुपर्ने सावधानी र कार्ययोजना स्वीकृत गरेको थियो ।

कार्ययोजनाअनुसार प्रादेशिक कार्यालयहरूले दैनिक न्यूनतम पाँच वटा सीमा नाका क्षेत्रका पेट्रोल पम्पहरूको निरीक्षण गरी आवश्यक विवरण लिनुपर्नेछ । यसरी निरीक्षण गर्दा निगमका कार्यालयले आफ्नो बिक्री क्षेत्रभित्र परेका तथा नेपाल–भारत सीमा नाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्पहरू, हुलाकी राजमार्गमा अवस्थित पेट्रोल पम्पहरू तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्यूनतम् पाँच किलोमिटर क्षेत्रभित्रका पेट्रोल पम्पको बिक्री अनुगमन गर्नुपर्ने छ । निगमको नयाँ नियमअनुसार, सीमा क्षेत्रका पेट्रोल पम्पले ड्रम, ग्यालेन तथा अन्य उपकरणमा पेट्रोल, डिजेल बिक्रीवितरण गर्न पाउने छैनन् ।

पानी तान्ने पम्प तथा अन्य कृषि उपकरण र मेसिन सञ्चालन गर्ने प्रयोजनका लािग जर्किनमा बिक्रीवितरण गर्नुपर्ने भएमा पेट्रोल पम्पले किसानका लािग आवश्यक मासिक परिमाणको घोषणा गर्नुपर्ने र लागत राखी बिक्री गर्नुपर्नेछ । बिक्रेताले उपभोक्ताको इन्धन खरिदविवरण अद्यावधिक राख्नुपर्नेछ । सीमा नाकाका पेट्रोल पम्पलाई मासिक अघिल्लो वर्ष निगमबाट उठाएको परिमाणमा १० प्रतिशत थप गरी मासिक परिमाण उपलब्ध गराउन सकिने निगमले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया