Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम सुरु

नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम सुरु


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम सुरु गरेको छ । ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले ‘नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधि २०७७’ लागू गरेको जनाएको छ ।

नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवानलक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरूसँग सभ्य, शिष्ट र पारदर्शी रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधि २०७७ बनाई लागू गरिएको महाशाखाले जनाएको छ ।

सय पूर्णाङ्कको कार्यविधिलाई दुई चरणमा विभाजन गरिएको छ, जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहीसँगको व्यवहार, अनुशासनलगायतका विषयहरू समेटिएका छन् । प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मूल्यांकन निज कार्यरत कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मूल्याङ्कन एवं सुपरिवेक्षण महाशाखाले गर्ने छनौट कार्यविधिमा व्यवस्था रहेको छ ।

प्रत्येक महिना सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने दुई जनालाई वृत्ति र विकासमा जनिने गरी नगद पुरस्कार एवं सम्मान समेत गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । यसले आम सेवाग्राही एवं सडक प्रयोगकर्ताहरूलाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्यसम्पादनमा प्रभावकारिता एवं स्तरवृद्धि गर्न कोशेढुंगो साबित हुने उनको भनाइ छ ।

१८ जना ट्राफिक प्रहरी सम्मानित : यस्तै महाशाखाले एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमध्ये ६ जनालाई नगद सहित बृद्धि बिकासमा समेत सहयोग हुनेगरि अभिलेखमा जनिने गरि पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरूमा प्रहरी हवल्दार शम्भु बिश्वकर्मा, प्रहरी जवानहरू अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन । उनीहरूले ट्राफिक नियम उल्लङ्घन गरि प्रहरीलाई घुस खुवाउन खोज्नेलाई पक्राउ गरेका थिए ।

नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न महाशाखाले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएको र फलस्वरूप घुष दिन खोज्ने ९४ जना चालकहरूलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन, प्रलोभनमा नपरी त्यस्ता चालकहरूलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको

छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनले बताए । महाशाखाले यस आ.ब.मा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरूलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । यस कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया