Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिर्माण सुरु भएको चार वर्षसम्म अलपत्र पुल

निर्माण सुरु भएको चार वर्षसम्म अलपत्र पुल


सर्लाही ।
सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४/७५ बाट निर्माण सुरु भएको सो पुल निर्माण सुरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो । हरिपुर नगरपालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुई खम्बा भएको पक्की पुल निर्माण सुरु गरिएको चार वर्षसम्म पनि जनप्रतिनिधिको लापरबाहीका कारण निर्माणसम्पन्न हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

हरिपुर नगरपालिकाको २५ लाख रूपैयाँ र लालबन्दी नगरपालकाको १० लाख रूपैयाँ गरी ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएको पुलको हालसम्म निर्माण उपभोक्ता समितिमार्फत नै काम भएको र विभिन्न चरणमा गरी २५ लाख रूपैयाँ रकम सकिसकेको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

आव २०७४/७५ मा नगरले पाँच/लाख रूपैयाँ, आव २०७५/७६ मा हरिपुर नगरले १० लाख रूपैयाँ र लालबन्दी नगरपालिकाले १० लाख रूपैयाँ रकमको व्यवस्था गरेको थियो । आव २०७७/७८ मा पनि हरिपुर नगरपालिकाले १० लाख रूपैयाँ रकमको व्यवस्था गरेको छ । लालबन्दीतर्फको क्षेत्रमा पुलको माथिल्लो भौतिक संरचना निर्माण भइसकेको भए पनि मानिस अहिले पनि खोलाबाटै आवतजावत गर्न बाध्य छन् । हरिपुरतर्फको क्षेत्रमा माटो भर्ने, ढंगा जाली लगाउने काम बाँकी नै रहेको हरिपुर नगरपालिका–८ का वडाध्यक्ष हरिबहादुर थापाले बताए ।

उपभोक्ता समितिमार्फत निर्माण सुरु गरिएको पुलको हालसम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरिसकिएको वडाध्यक्ष थापाले जानकारी दिए । वडाध्यक्ष थापाले हरिपुर नगरपालिकाका नगरप्रमुख मन्सुरले पुल निर्माण कार्यमा रकमको उचित व्यवस्था नगर्दा निर्धारित समयमा पुल निर्माण हुन नसकेको आरोप लगाए । नगरप्रमुख मन्सुरले निर्माण उपभोक्ता समितिमार्फत काम गर्दा गुणस्तरीय काम हुने भएका कारण आफूले निर्माण उपभोक्ता समितिमार्फत काम गर्न लगाएको बताए । उनका अनुसार पुल निर्माणको काम करिब ७० प्रतिशत सकिएको र अबको केही महिनाभित्रमा पूरै काम सम्पन्न हुनेछ ।

आरोप प्रत्यारोपमा रुमलिँदै नुनथर सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नुनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ । प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नुनथर क्षेत्रका लागि पटक–पटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

बजेटअनुसारको विकासको काम नभएको र भएका काम पनि गुणस्तरहीन भएको स्थानीयवासीको भनाइ छ । पहुँचवालाले स्थानीय विकासको नाममा नदी दोहन गरिरहेका उनीहरूको आरोप छ । उपभोक्ता समितिमार्फत भएको योजनामा एकलौटी तरिकाले काम गरेको र समितिका पदधिकारीसँग सल्लाहसमेत नगरेको स्थानीय कपिल माझीले गुनासो गरे ।

नुनथर क्षेत्र प्रवेशमा लिइँदै आएको शुल्कको रकम पनि अनियमित हुनेगरेको आशंका सर्वसाधारणले गरेका छन् । चन्द्रपुर नगरपालिकालाई राजस्व दाखिलासमेत नगरी चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर रखालले रकम अपारदर्शी ढङ्गले असुल्ने गरेको पाइएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले बताए । नुनथर विकास समितिले प्रक्रियासम्मत तरिकाले काम गरेको उनको भनाइ छ ।

उनले नगरपालिका र नुनथर विकास समितिले सिधैँ सम्झौता गरेर काम गरेको पनि बताए । चन्द्रपुर नगरपालिकाको लेखा अधिकृत कृति सुवेदीका अनुसार नुनथर विकास समितिले प्रवेश शुल्क काट्दा ३० प्रतिशत नगरपालिकाको राजस्व शाखामा बुझाउने र बाँकी रहेको ७० प्रतिशत नुनथर विकास समितिमा राखेर सरसफाइलगायतको काममा खर्च गर्ने नगरपालिका नगर कार्यपालिकाले निर्णय नै गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया