Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली नागरिक सहभागी हुन पाउने

मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली नागरिक सहभागी हुन पाउने


काठमाडौं ।
नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सोक्सो)बीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धन गर्नेसम्बन्धी सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा समझदारीपत्रको मस्यौदाउपर विभिन्न चरणमा छलफल भएपश्चात् तयार भएको अन्तिम मस्यौदालाई नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयानुसार उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नको निम्ति वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई अख्तियारी प्रदान भएकोमा फागुन ४ गते बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र फागुन १४ गते सोक्सोका प्रमुख कार्यकारी अधिकृत दातो डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका हुन् । विश्वव्यापी कोभिड–१९ को संक्रमणका परिदृश्यमा पत्रको आदानप्रदानमार्फत काठमाडौँ र क्वालालम्पुर दुवै स्थानमा गरी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरू भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहिआएकोमा सोक्सोद्वारा उपलब्ध गराइएको जानकारीअनुसार हालसम्म करिब तीन लाख नेपाली श्रमिकहरू यसमा आबद्ध भइसकेका छन् । यस संस्थामा आबद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको निम्ति उसले पाउने मासिक तलबको एक दशमलव २५ प्रतिशतले हुनआउने रकम मासिकरूपमा बुझाउनुपर्ने हुन्छ ।

विगतमा विदेशी कामदार सहुलियत योजना (एफडब्लूसीएस)मा आबद्ध भएका श्रमिकको हकमा ३१ डिसेम्बर २०१९ सम्मका लागि एफडब्लूसीएसको म्याद समाप्त भएको अर्को दिन सोक्सोमा दर्ता गराउनुपर्ने नियम रहेको थियो । तर १ जनवरी २०२० पश्चात भने सबै रोजगारदाताले अनिवार्य रूपमा सोक्सोमा आबद्ध गराउनुपर्ने व्यवस्था छ । यसैअनुसार हालसम्म चार लाखभन्दा बढी रोजगारदाता र ७० लाखभन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक सोक्सोमा आबद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालयहरू रहेका छन् ।

सोक्सोमा आबद्ध भएका विदेशी श्रमिकहरूले वैदेशिक कामदारका लागि रोजगार चोटपटक योजनामा सामेल हुन पाउँछन् । यस योजनाअन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सोबापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ । यस योजनाबमोजिम प्राप्त हुने लाभहरूलाई स्वास्थ्यलाभ, अस्थायी असक्षमता लाभ, स्थायी अक्षमता लाभ, आश्रित लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुनस्र्थापना सुविधा गरी वर्गीकरण गरिएको छ ।

उक्त लाभहरू कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभहरूका निम्ति सोक्सोले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको छ । कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले पञ्च कार्डहरू वा उपस्थिति रेकर्डहरू, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपिसहित दुर्घटना रिपोर्ट फाराम भरेर सोक्सो कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । यदि दुर्घटना काममा आउँदा वा कामबाट फर्कँदा भएको छ भने यी कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्दछ ।

कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगबाट पीडित भएका श्रमिकहरूका लागि सोक्सोसँग आबद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाइन्छ । पूर्णरूपमा अक्षमता भएका वा भविष्यमा शत प्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरू तोकिएको मेडिकल बोर्डको सिफारिसका आधारमा निरन्तर उपस्थिति भत्ताका हकदार हुने व्यवस्था गरिएको छ । यसैगरी मृत्यु भएका श्रमिकहरूको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिएबमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ ।

अस्थायी अक्षमता लाभ, स्थायी अक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधाहरू हुन् । कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायीरूपमा आयआर्जन गर्न अक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ । अस्थायी रूपमा काम गर्न अक्षम भएकाहरूले भने आयआर्जन तोकिएका सर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्दछन् । आश्रित लाभअन्तर्गत कुनै श्रमिकको तोकिएबमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विदुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्नसक्ने व्यवस्था छ ।

मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम नै प्राप्त गर्नसक्ने व्यवस्था छ । यदि श्रीमान् वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

यस समझदारीपश्चात् मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सामाजिक सुरक्षालाई प्रभावकारी तुल्याउनका निम्ति सामाजिक सुरक्षाबापतका लाभहरूको प्रवाह, विचारको आदानप्रदान तथा श्रमिक तथा सरोकारवालाहरूको सचेतीकरणका मुद्दाहरूमा दुवै देशबीच सहकार्यको अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया